रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित स्थानीय तहका जनप्रतिनिधिले संघीय सरकारले आफ्ना गुनासा नसुनेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग गुनासो पोखेका छन्।
आइतबार लामिछानेसँगको संवादमा उनीहरूले केन्द्र सरकारसँग सम्पर्क गर्दा समस्याको बेवास्ता गरिएको, राहत वितरण र उद्धारमा समन्वय नभएको गुनासो गरेका हुन्। स्थानीय तहका प्रतिनिधिहरूले सडक, विद्युत्, शव व्यवस्थापन, खाद्यान्न र आवासजस्ता तत्काल समाधान गर्नुपर्ने समस्याबारे जानकारी गराएका थिए।
रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बाढीपछि सडक सञ्जाल जोड्नुपर्ने र तत्काल एक हजार ग्यास सिलिन्डरको व्यवस्था गर्नुपर्ने माग गरे। उनले विद्युत् प्राधिकरणले खम्बा गाड्ने र तार तान्ने काम तत्काल गर्नुपर्नेमा जोड दिए।
देवकोटाले रसुवामा प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार र प्रहरी प्रमुखको कार्यशैली प्रभावकारी नभएको भन्दै सुरक्षा अधिकारीहरूसँग समन्वय नहुने, झर्किने र उद्धारमा उदाशीनता देखाउने गरेको गुनासो गरे।
उत्तरगया गाउँपालिका रसुवाका अध्यक्ष माधवप्रसाद अर्यालले शव व्यवस्थापनलाई सबैभन्दा गम्भीर र तत्काल समाधान गर्नुपर्ने समस्या बताए। उनले उद्धारमा सुरक्षाकर्मी खटिएका कारण नियमित जनसुरक्षाका काम प्रभावित भएको र संकटका बेला सुरक्षा प्रत्याभूति हुन नसकेको भन्दै थप सुरक्षाकर्मी परिचालन गर्न माग गरे।
जवाफमा रवि लामिछानेले उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सरकार र सम्बन्धित निकायसँग तत्काल समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। रास्वपाका अनुसार लामिछानेले जनप्रतिनिधिहरूले उठाएका विषयलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित मन्त्रालय तथा निकायसँग छलफल गरी समस्याको यथाशीघ्र समाधानका लागि पहल गर्ने बताएका छन्।
बाढीपहिरोबाट रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ। सडक, विद्युत्, सञ्चार तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउनसमेत चुनौती देखिएको छ। स्थानीय तहहरूले तत्काल सडक खुलाउने, विद्युत् पुनःस्थापना गर्ने, शव व्यवस्थापन गर्ने र विस्थापितलाई अस्थायी आवास उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्न माग गरिरहेका छन्।
