इलाम । बेलिब्रिजको सामग्री बोकेर झापाबाट इलामतर्फ आउँदै गरेको ट्रक मेची राजमार्गको बाह्रगोलाइमा दुर्घटना भएको छ। दुर्घटनामा भारतको दक्षिण दिनेशपुर गङ्गारामपुरका ३८ वर्षीय सहचालक सुवास बर्मनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा ट्रक चालक भारतकै ३० वर्षीय रबिन बर्मन र सिन्धुपाल्चोकका २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ।
प्रनाउ भण्डारीका अनुसार ट्रक अनियन्त्रित भई सडकको दाहिने साइडबाट करिब पाँच मिटर तल खसेको थियो। ट्रक जोगमाई खोलामा निर्माणाधीन बेलिब्रिजको सामग्री बोकेर झापाबाट इलामतर्फ जाँदै थियो।
