NM Khabar 4 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जसपाले लुम्बिनीका चार प्रदेशसभा सदस्यसहित २१ जनालाई पार्टीबाट निष्कासन गर्‍यो

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त र विधानविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ। निष्कासनमा पर्नेमा रुपन्देही र बाँकेका प्रदेशसभा सदस्यहरू छन्, जसले पार्टी निर्णय विपरीत लुम्बिनी सरकारमा सहभागी भएको आरोप छ। जसपाले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ दिने निर्णय गर्नुका साथै आगामी असोजमा काठमाडौंमा केन्द्रीय समिति बैठक गर्ने भएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
4 September 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
जसपा निष्कासन
Share:

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान र निर्णयविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जना जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

ललितपुरको बालकुमारीमा भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का क्रममा पार्टीको निर्देशनविपरीत कार्य गरेको र लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्दै सरकारमा समेत सहभागी भएको आरोपमा रुपन्देही–३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फकी हेमा वेल्वासे (केसी), बाँके–२ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके–२ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाललाई कारबाही गरिएको छ ।

पार्टीको निर्णयविपरीत गतिविधि गरेको भन्दै सिरहा, पर्सा, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीका स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यसहित अन्यलाई पनि पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले भदौ १० गते रसुवागढीको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

जसपाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राहत, उद्धार तथा बाढीपीडितको व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारसँग माग गरेको छ । राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा, नेपालको रणनीतिक दिशा’ शीर्षकको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

जसपाको केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ ।

जसपाले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मतिले स्वागत तथा समर्थन गरेको छ । मोर्चाले घोषणा गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टीका सम्पूर्ण पङ्क्तिले सक्रिय सहभागिता जनाउने निर्णय पनि बैठकले गरेको छ ।

संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि पश्चिम नवलपरासीमा भदौ २१, रुपन्देहीमा भदौ २२ तथा कपिलवस्तु र दाङमा भदौ २३ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णयसमेत गरिएको महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार