भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवासहित पाँच जिल्लामा ७,५७० निजी भवनमा क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त अध्ययनले ८,३१७ घरपरिवारका ३२,९६३ नागरिक विस्थापित भएको देखाएको छ।
भदौ १० गते तिब्बतबाट रसुवाको भोटेकोसी नदीमा आएको बाढी त्रिशूली हुँदै नारायणीसम्म पुगेको थियो। लेहन्दे खोला जलाधार क्षेत्रमा हिमपहिरोका कारण आएको तीव्र ‘डेब्रिस फ्लो’ बाढीले बस्ती र पूर्वाधारमा ठूलो क्षति गर्यो।
नुवाकोट सबैभन्दा बढी प्रभावित छ। त्यहाँ ३,९७७ निजी भवनमा क्षति पुगेको छ। रसुवामा १,७७९, धादिङमा १,४५१, गोरखामा २६३ र चितवनमा १०० निजी भवन प्रभावित भए।
स्थानीय तहमा विदुर नगरपालिका सर्वाधिक प्रभावित छ। विदुरमा मात्रै ३,०२६ भवनमा क्षति पुगेको प्रतिवेदनले औंल्यायो। त्यसपछि रसुवाको गोसाईंकुण्ड र धादिङको बेनिघाट रोराङ प्रभावित छन्।
बाढीले निजी भवन र घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको क्षति गर्यो। भवन संरचनामा करिब ३८ अर्ब ९३ करोड र घरायसी सम्पत्तिमा करिब २४ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
क्षतिग्रस्त भवनको पुनःस्थापना र पुनर्निर्माणका लागि ९५ अर्ब ८२ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ। यसमा भग्नावशेष हटाउने, अस्थायी आवास, खानेपानी, सरसफाइ, भवन मूल्यांकन, मर्मत र पुनर्निर्माण समावेश छन्।
कुन घर मर्मतयोग्य, कुन पुनर्निर्माण गर्नुपर्ने वा कुन जोखिमका कारण स्थानान्तरण गर्नुपर्ने भन्ने स्थलगत निरीक्षण र घरधुरी प्रमाणीकरणपछि मात्रै यकिन हुनेछ।
समग्रमा भोटेकोसी–त्रिशूली–नारायणी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको भौतिक र आर्थिक क्षति भएको छ। प्रभावित क्षेत्रको पुनःस्थापना, पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने आकलन छ।
