आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कर्मचारीलाई बिदाको दिनसमेत काममा लगाउने गरेको पाइएको छ। ह्वाट्सएपमार्फत निर्देशन दिँदै संस्थाले शनिबार र आइतबारको नियमित बिदामा पनि काम गर्न बाध्य पारेको एक कर्मचारीले गुनासो गरेका छन्।
ती कर्मचारीका अनुसार, बिदाको दिन काम गराए पनि त्यसबापत कुनै अतिरिक्त भत्ता नपाएको र कार्यालय नखुले अनावश्यक ‘टर्चर’ दिने तथा सरुवा गर्ने गरेको गुनासो छ। सार्वजनिक बिदाका दिन पनि कार्यालय खोल्न निर्देशन आउने र नमानेमा भोलिपल्टैदेखि उत्पीडन सुरु हुने गरेको उनीहरूको भनाइ छ।
यसअघि पनि केही कर्मचारीले संस्थाको यस रबैयाविरुद्ध आवाज उठाउँदा विभिन्न कारण देखाएर कारबाही गरिएको थियो। एचआर डिपार्टमेन्टबाट कार्यालय खोल्नु भनेर म्यासेज पठाउने र केही समयमै डिलिट गर्ने गरिएको पनि ती कर्मचारीले बताएका छन्। यसरी म्यासेज डिलिट गरेपछि कसैले आवाज उठाए वा प्रश्न उठेमा कर्मचारी आफैँले शाखा खोलेको भन्ने बहाना बनाइने गरेको आरोप छ।
यस विषयमा थप बुझ्न संस्थाका सूचना अधिकारी मनरुपा पौडेललाई सम्पर्क गर्ने प्रयास गर्दा पटकपटक फोन गर्दा पनि उहाँले उठाउनुभएन।
