काठमाडौंको मुटुमा १५ करोडको सरकारी जग्गा माफियाले कब्जा गरेको खुलासा भएको छ।
हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि लाम लागेको छ। पशुपति क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बिहान ३:१५ बजेदेखि मन्दिरका चार वटै ढोका खोलिएको थियो। बिहान ७ बजेसम्म करिब नौ हजार दर्शनार्थीले दर्शन गरिसकेका छन् भने करिब तीन हजार दर्शनार्थी लाइनमा रहेका छन्।
प्रहरीले दर्शन सहजीकरण, सूचना, खोज तथा उद्धार, परिवार पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ। सुरक्षा व्यवस्थापनका लागि सीसीटीभी, ड्रोन र सञ्चार प्रविधिको प्रयोग गरिएको छ। सादा पोसाकका प्रहरी, महिला, पुरुष र विपद् उद्धार टोली खटाइएका छन्।
दुई सिफ्टमा सुरक्षा व्यवस्थापनका लागि दुई हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ, जसमा एक सिफ्टमा एक हजार २५० प्रहरी खटिएका छन्।
पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्षको तीजमा चार हजार सुरक्षाकर्मीका साथै २४ वटा धार्मिक एवं सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक परिचालन गरिएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा गरिएको छ।
यस वर्ष भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ। भक्तजनले बिहान लाम बसेको आधा घण्टामा दर्शन गरेर फर्कन सक्ने अवस्था रहेको कोषले जनाएको छ। भदौरे झरीका बाबजुद पनि भक्तजनले लामबद्ध भएर दर्शन गरिरहेका छन्।
देशभरका शिवालयमा पनि तीज पर्वका अवसरमा पूजा एवं दर्शन गर्न भक्तजनको लाम लागेको छ। राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड छ।
