NM Khabar 17 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लाखौँ ठगीका आरोपित महोत्तरी प्रहरी कार्यालयबाटै फरार

लाखौँ ठगी आरोपमा पक्राउ परेका रामेश्वर पराजुली महोत्तरी प्रहरी कार्यालयबाटै फरार भएका छन्। सिरहा प्रहरीले पक्राउ गरी महोत्तरी बुझाएपछि उनी फरार भएका हुन्। प्रहरीकै मिलेमतोमा उनी भागेको आशंका गरिएको छ।
Arjun Basnet
Arjun Basnet
16 September 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
महोत्तरी प्रहरी फरार
Share:

लाखौँ ठगीको आरोपमा पक्राउ परेका रामेश्वर पराजुली महोत्तरी प्रहरी कार्यालयबाटै फरार भएका छन्। कास्की पोखरा–५ का ३८ वर्षीय पराजुली प्रहरीको आँखा छलेर निस्केका हुन्।

सिरहा प्रहरीले गत साउन २७ गते पराजुलीलाई पक्राउ गरेको थियो। सिरहाको मुद्दा प्रक्रिया सकेर उनलाई महोत्तरी पठाइएको थियो। महोत्तरीमा मुद्दाको अन्तिम टुङ्गो लाग्न नपाउँदै उनी फरार भएका हुन्। यस घटनामा प्रहरीको मिलेमतोको आशंका छ।

महोत्तरी प्रहरीले ठगी र आपराधिक विश्वासघात कसुरमा पराजुलीमाथि अनुसन्धान गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। महोत्तरीका दरवेश राय यादवले उनीविरुद्ध जाहेरी दिएका थिए। अदालतले दुई कसुरमा जनही १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

धरौटी तिरेपछि पराजुलीविरुद्ध काठमाडौँका प्रहरी वृत्त बौद्ध र गौशालामा पनि ठगीको जाहेरी दर्ता भएको थियो। ती जाहेरीमाथिको अनुसन्धान बाँकी नै थियो। अनुसन्धानका लागि काठमाडौँ पठाउनुपर्ने प्रतिवादी महोत्तरी प्रहरी कार्यालयबाटै भागेको एक अधिकृतले बताए।

प्रहरी वृत्त बौद्ध र गौशालाले पराजुलीलाई पठाउन महोत्तरी प्रहरीलाई पत्राचार गरेका थिए। भदौ २२ गते महोत्तरी जिल्ला अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसपछि काठमाडौँ पठाउने तयारी भइरहेका बेला उनी फरार भएको महोत्तरीका एसपी श्याम सारु मगरले बताए। एसपी मगरले यस विषयमा आन्तरिक छानबिन भइरहेको जानकारी दिए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार