NM Khabar 18 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारद्वारा १३ देशका लागि राजदूत सिफारिस: भारत, चीन, अमेरिकामा नयाँ अनुहार

सरकारले भारत, चीन, अमेरिका लगायत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ। सिफारिस गरिएका नामहरू अब संसदीय सुनुवाइ र सम्बन्धित देशको एग्रिमो प्रक्रियाबाट अघि बढ्नेछन्। दोस्रो चरणमा करियर डिप्लोम्याटहरूलाई राजदूतमा सिफारिस गरिने योजना छ।
Bikram Magar
Bikram Magar
18 September 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
राजदूत सिफारिस
Share:

सरकारले भारत, चीन, अमेरिका, बेलायत लगायत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कोटाअन्तर्गत यी मुलुकहरूमा राजदूत नियुक्तिका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजङ्ग थापा राजदूतमा सिफारिस भएका छन्। यसैगरी, संयुक्त अधिराज्य (बेलायत) का लागि अवकाशप्राप्त पूर्वप्रधानसेनापति गौरव शम्शेर जङ्गबहादुर राणा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलङ्काका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम पनि सिफारिस गरिएको छ।

परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते सूचना प्रकाशित गरी १३ देशका लागि राजदूतको आवेदन मागेको थियो। आवेदन दिने अन्तिम मिति जेठ २२ गते तोकिएको थियो। सो अवधिमा दुई हजार ७०० जनाको झन्डै चार हजार आवेदन परेका थिए।

सिफारिस गरिएका नामहरू अब संसदीय सुनुवाइ समितिमा पठाइनेछन्। समितिबाट अनुमोदित भएपछि सम्बन्धित देशमा ‘एग्रिमो’ (सहमति) का लागि पठाइनेछ। सम्बन्धित देशबाट एग्रिमो स्वीकृत भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति गरिने कानुनी प्रावधान छ।

सरकारले २१ देशका लागि राजदूत सिफारिस गर्नुपर्ने भए पनि हाल १३ जनाको मात्र नाम सिफारिस गरेको छ। बाँकी करियर डिप्लोम्याट (परराष्ट्र मन्त्रालयका सहसचिव) लाई दोस्रो चरणमा राजदूतमा सिफारिस गर्ने तयारी छ। परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) असोजमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम छ। उनीहरूको फर्किसकेपछि करियर डिप्लोम्याटको नाम सिफारिस गरिने बताइएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार