झापाको मेचीनगरमा अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले मानव कङ्काल फेला पारेको छ। यस घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ।
ललितपुरका दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गते झापाको काँकडभिट्टाबाट बेपत्ता भएका थिए। निजकी श्रीमती तुलसा बुढा बजगाईंले दिएको निवेदनका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा बजगाईंसँगै हिँड्ने साथी म्याग्दीका गुप्तबहादुर सिंहलाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेको हो। सिंहले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ भान्सा खोलास्थित जयप्रसाद तिवारीको जग्गामा सञ्चालित बङ्गुर फर्मभित्र २०८३ असोज ७ गते उत्खनन गर्दा मानव आकृति देखिने कङ्काल फेला परेको बताए।
स्थानीय बासिन्दा र जनप्रतिनिधिको रोहवरमा जेसीबी प्रयोग गरी खन्दा कङ्काल भेटिएको हो। उक्त कङ्काल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
कङ्काल निवेदक तुलसाका श्रीमान् दिलनाथ बजगाईंकै हो वा होइन भन्ने यकिन गर्न शव परीक्षणपछि नमुना केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइने प्रक्रिया भइरहेको छ।
यस घटनामा संलग्न भएको अभियोगमा प्रहरीले म्याग्दीका गुप्तबहादुर सिंह र भारतको आलेपुरका सञ्जय लामालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
