प्रहरीले लागूऔषधसहित १२ जनालाई विभिन्न जिल्लाबाट नियन्त्रणमा लिएको छ। काठमाडौं, उदयपुर, झापा, मोरङ, मकवानपुर र रौतहटबाट प्रहरीले लागूऔषध बरामद गरेको छ।
काठमाडौं उपत्यकाबाट प्रहरीले ३ ग्राम १० मिलिग्राम खैरो हेरोइन, १८ हजार ३ सय ट्याब्लेट ट्रामाडोल, ७ सय ८२ एम्पुल डाईजेपाम, ७ सय ८२ एम्पुल फेनारगन, ७ सय ८२ एम्पुल बुप्रेनोर्फिन र ५ लाख ६० हजार ४ सय रुपैयाँ नगद बरामद गरेको छ। चन्द्रागिरी नगरपालिका-६ का विक्रम घले, मकवानपुरका विजय तामाङ, ललित बहादुर स्याङ्तान, काभ्रेका गणेश लामा र सिन्धुलीका रत्न तामाङ पक्राउ परेका छन्। प्रहरी वृत्त थानकोटले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चन्द्रागिरी नगरपालिका-१५ नैकापबाट ३४ वर्षीय बिक्रम घलेलाई ३ हजार ४ सय ५० ट्याब्लेट ट्रामाडोल, १ सय ग्राम पोलेन, १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ लाख ७९ हजार रुपैयाँ नगद सहित पक्राउ गरिएको छ। लागूऔषध लिन आएका मकवानपुरका २४ वर्षीय विजय तामाङ गोलेलाई २० ट्याब्लेट ट्रामाडोल र १६ हजार ५ सय रुपैयाँ नगद सहित पक्राउ गरिएको छ।
उदयपुरको बेलका नगरपालिका-९ बाट ३२ वर्षीय युवराज राईलाई १२ किलोग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले उनको घरमा गाँजा बरामद गरेको हो।
झापाको हल्दिबारी गाउँपालिका-४ बाट २ ग्राम ७ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित अर्जुनधारा नगरपालिका-८ बस्ने २७ वर्षीय महमत सुलेमान पक्राउ परेका छन्। प्रहरी चौकी जलथलले उनलाई मोटरसाइकलमा सवार अवस्थामा नियन्त्रणमा लिएको हो।
मोरङको बेलबारी नगरपालिका-१ बाट २३ वर्षीय जके भन्ने बामदेव दर्जी र अर्का एक जनालाई १ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीले उनीहरूको घरमा लागूऔषध फेला पारेको थियो।
रौतहटको यमुनामाई गाउँपालिका-४ बाट करिब ५ किलो २ सय ५० ग्राम गाँजा सहित २६ वर्षीय पुजन साहलाई प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बमनहरले उनलाई मोटरसाइकलमा सवार अवस्थामा नियन्त्रणमा लिएको हो।
