सरकारले बाढी तथा पहिरोले अवरुद्ध मुख्य सडकहरू दसैँअघि नै पूर्ण रूपमा सञ्चालनमा ल्याउने तीव्र तयारी गरेको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा सडक सुधारका काम तीव्र गतिमा भइरहेको बताएका छन्। चाडपर्व नजिकिँदै गर्दा उपत्यकाबाट घर फर्कने यात्रुलाई सहज बनाउन यो तयारी अघि बढाइएको हो।
नेपाल प्रहरीले असोज २१ गते बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, भदौ १० गतेको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवा जिल्लाका सबै मुख्य राजमार्ग अवरुद्ध भएका थिए। प्रवक्ता न्यौपानेका अनुसार, भोटेकोशी बाढी प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मतको काम अघि बढाइएको छ।
आगामी ४/५ दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गरिने र मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुने न्यौपानेले जनाए। गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोले पूर्ण रूपमा बन्द छ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदिकाली गाउँपालिका–३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर असोज १४ गतेदेखि प्रभावित भए पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ। यद्यपि, सो सडकमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने प्रहरीले उल्लेख गरेको छ। मनाङ जिल्लामा असोज १८ गते आएको बाढीका कारण प्रभावित बेँसीसहर–खाङ्सार सडक खण्ड पनि हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
‘यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन,’ प्रवक्ता न्यौपानेले भने। बाँकी अवरुद्ध सडकहरू पनि चाँडोभन्दा चाँडो पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक समन्वय र कार्य भइरहेको प्रहरीले जनाएको छ। दसैँको घटस्थापना असोज २५ गते र विजयादशमी कार्तिक ३ गते परेकाले चाडपर्वअघि नै सडक खुलाउने प्रयास भइरहेको छ।
यसअघि: बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, २७ जनाको मृत्यु
