ताजा अपडेट: बूढीगण्डकी बाढी: गोरखाको चुमनुब्रीमा सात घर बगायो, ३५ घर डुबानमा
बूढीगण्डकी बाढीले गोरखाको सल्लेरी बजार बगायो, जगतमा ठूलो क्षति पुर्यायो। आइतबार बिहान चुमनुब्री गाउँपालिका क्षेत्रमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार तल्लो तटीय क्षेत्रलाई जोगाउन सुरक्षा निकाय परिचालन गरिएको छ। नदीको मूल स्रोत हिमाली क्षेत्र भएकाले बाढीको उत्पत्ति र क्षतिको अवस्थाबारे जानकारी संकलन भइरहेको उनले बताए।
बाढीको माथिल्लो क्षेत्रबाट तल्लो भागसम्म पुग्न करिब दुई घण्टा लाग्ने अनुमान छ। उप्रेतीले नागरिकन्युजलाई भने, ‘हामी बजार खाली गराउँदैछौँ। सेनाको हेलिकप्टर, प्रहरी परिचालन र एसएमएस अलर्ट पठाइसकिएको छ।’
सर्ती खोलाबाट सुरु भएको बाढीको प्रभाव सिर्दिबास, जगत, यारु, तातोपानी, माछाखोला, सोती, आरुखेत र आरुघाटसम्म पर्न सक्ने देखिएको छ। यसअघि असोज २५ गते बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले चुमनुब्री गाउँपालिका–३, जगतमा कम्तीमा ७ वटा घर बगाएको थियो।
सल्लेरी बजारलगायत स्थानमा भएको क्षतिको यकिन विवरण भने पुष्टि भइनसकेको उप्रेतीले जनाए। विस्तृत विवरण संकलन भइरहेको उनको भनाइ छ।
मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएस पठाइसकेको छ। महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान छ। आरुघाटसम्मै सतर्क रहन आग्रह गर्दै एसएमएस पठाइएको उनले बताए।
बाढीको पानी त्रिशूली नदीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रसम्म सतर्कता आवश्यक छ। चुमनुब्री गाउँपालिकाको चेकम्पा क्षेत्रमा गएको पहिरोले नदी थुनिएर अचानक पानी छोडिएको हुन सक्ने आशंका गरिएको छ।
यसअघि: बूढीगण्डकी बाढीले गोरखाको जगतमा ७ घर बगायो, स्थानीय रातभर जागै बसे
