औषधि व्यवस्था विभागले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधि बेचेको भन्दै ललितपुरका १३ वटा फार्मेसीलाई कानुनी कारबाही गर्ने भएको छ। विभागले गरेको छड्के अनुगमनका क्रममा ती फार्मेसीले नियमविपरीत औषधि बिक्री गरेको पाइएको हो।
विभागका महानिर्देशक भरत भट्टराईले हालै गरिएको अनुगमनका क्रममा ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटाले एन्टिबायोटिक औषधि बिनाप्रेस्क्रिप्सन बिक्री गरेको पाइएको बताए। उनले भने, ‘सोह्रवटा कम्युनिटी फार्मेसीमध्ये १३ वटाले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक ओभर द काउन्टर गरिरहेको पाइएको छ।’
ललितपुरका ८१.२५ प्रतिशत फार्मेसीले नियम मिचे
विभागले ललितपुरका विभिन्न स्थानमा रहेका १६ वटा कम्युनिटी फार्मेसीको छड्के अनुगमन गरेको थियो। यस क्रममा अनुगमन गरिएका कुल फार्मेसीमध्ये ८१.२५ प्रतिशतले नियमविपरीत प्रतिजैविक औषधि बिक्री गरिरहेको फेला परेको हो।
विभागका अनुसार, महालक्ष्मी–१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी, इजी फार्मेसी, ललितपुर महानगरपालिका–१५ स्थित विश्वास फार्मेसी, र ललितपुर महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ७ मा रहेका केही फार्मेसीहरूले बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बेचेको पाइएको छ।
एन्टिबायोटिक दुरुपयोगले एएमआरको जोखिम
चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिकको बिक्रीले एन्टिमाइक्रोबियल रेजिस्टेन्स (एएमआर) को जोखिम बढाएको छ। औषधि व्यवस्था विभागले २०८३ कार्तिक १९ गते नै एएमआरको बढ्दो जोखिम न्यूनीकरण गर्न एन्टिमाइक्रोबियल औषधिको विवेकपूर्ण प्रयोगमा जोड दिएको थियो।
विश्व स्वास्थ्य संगठन (WHO) नेपालले सन् २०२४ डिसेम्बरमा सार्वजनिक गरेको विवरणअनुसार सन् २०१९ मा नेपालमा एएमआरका कारण प्रत्यक्ष रूपमा करिब ६,४०० जनाको मृत्यु भएको थियो। यसैगरी, थप २३,२०० जनाको मृत्युमा एएमआरको योगदान रहेको अनुमान गरिएको थियो। विश्वमा एन्टिबायोटिकले काम नगरेर सन् २०५० सम्ममा प्रतिवर्ष १ करोड मानिसको ज्यान जाने अनुमान गरिएको छ।
औषधि ऐन २०३५ ले औषधिको अनुचित प्रयोग वा दुरुपयोग हुन नदिन नियन्त्रण गर्ने व्यवस्था गरेको छ। नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको र चिकित्सकको सल्लाह तथा किटाणुको परीक्षणपछि मात्रै बिरामीलाई एन्टिबायोटिक दिनुपर्ने औषधि निर्देशिकामा उल्लेख छ। स्वास्थ्य मन्त्री निशा मेहताले एन्टिमाइक्रोबियल औषधिको प्रयोगलाई व्यवस्थित बनाउन नियमित अध्ययन हुनुपर्नेमा जोड दिएकी छन्।
महानिर्देशक भट्टराईले बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बेच्ने फार्मेसीहरूलाई कानुनअनुसार कारबाही गरिने बताएका छन्। यद्यपि, कारबाही गरिने भनिएका फार्मेसीहरूलाई कुन कानुनअनुसार के कस्तो कारबाही हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।
यसअघि: औषधि व्यवस्था विभाग: ललितपुरका १३ फार्मेसीले बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बेचेको भेटियो