आइतबार धनुषा र झापाका सीमा क्षेत्रबाट २७ लाख ३ हजार ४०० रुपैयाँ बराबरका भारतीय फूलहरू बरामद गरी सशस्त्र प्रहरीले नष्ट गरेको छ। तिहारको मुखमा भन्सार छली गरी भित्र्याइएका यी फूलले स्थानीय पुष्प व्यवसायी र किसानलाई थप मारमा पारेको छ।
झापाको भद्रपुर नगरपालिका–८, देवीबस्ती क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गणको नौ सदस्यीय टोलीले २५ लाख ६३ हजार ४०० रुपैयाँ मूल्य बराबरका ११ हजार ३४२ थान भारतीय सयपत्री माला र १२ बोरा कमलको फूल बरामद गरेको छ, सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ गण, झापाको कार्यालय परिसरमा बरामद गरिएका ती फूलहरु स्थानीय प्रतिनिधिहरुको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको थियो।
पृष्ठभूमि
- नेपालमा व्यावसायिक फूल खेतीको सुरुवात वि.सं. २०११-२०१२ तिरबाट भएको हो।
- नेपालमा पुष्प व्यवसायको विकास र विस्तार २०४९ पछि भएको देखिन्छ।
- नेपालमा फूलको आन्तरिक मागको करिब ९० प्रतिशत स्वदेशी उत्पादनले धान्दै आएको छ।
- असोज ९ देखि १२ सम्मको भारी वर्षाका कारण फूल खेतीमा असर परेकोले यस वर्ष तिहारमा सयपत्री माला आयात गर्नुपर्ने अवस्था आएको फ्यानले जनाएको छ।
यसैबीच, धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३, तुल्सियाहीborder area मा सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जल बिष्टको नेतृत्वमा खटिएको टोलीले १ लाख ४० हजार रुपैयाँ बराबरको २०० किलो सयपत्री फूल बरामद गरेको छ। फूल बोकेर ल्याउने व्यक्ति प्रहरीको टोली देखेपछि फूल छाडेर फरार भएका थिए। धनुषामा बरामद फूल जनप्रतिनिधि, नेपाल प्रहरी, भन्सार कार्यालय जटहीका प्रतिनिधि र स्थानीयवासीको रोहबरमा नष्ट गरियो।
तिहारमा फूलको माग र स्वदेशी उत्पादन
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले यस वर्ष तिहारका लागि ४५ लाख सयपत्री मालाको माग रहेकामा ४० लाख माला स्वदेशमै उत्पादन भएको जनाएको छ। बाँकी ५ लाख माला आयात गर्नुपर्ने अवस्थामा यसरी अवैध रूपमा फूल भित्रिँदा स्वदेशी उत्पादनले बजार पाउन कठिन हुने फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताए।
फ्यानका अनुसार यस वर्ष तिहारमा फूलको कारोबार गत वर्षभन्दा १६.९१ प्रतिशतले वृद्धि भई तीन अर्ब ९४ करोडभन्दा बढी पुग्ने अनुमान गरिएको छ। नेपालमा प्लास्टिक तथा कृत्रिम फूलमालाको आयात र बिक्रीमा प्रतिबन्ध भए पनि भन्सारबाट यस्ता फूलमाला भित्रिने गरेको वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बताएका छन्।
वातावरण विभागले बुधबारदेखि नै प्लास्टिकका फूलमाला र दियो बिक्री गर्नेलाई अनुगमन गरेर कारबाही गर्ने जानकारी दिएको छ।