नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत बिहीबार टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७ रनले पराजित गरेको छ। रोमाञ्चक बनेको खेलमा सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीको आक्रामक अर्धशतक निर्णायक बन्यो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले सुरुवाती ४ विकेट ७ रनमा गुमाए पनि ऐरीको उत्कृष्ट इनिङ्सको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। ऐरीले ५४ बलमा ५ चौका र २ छक्कासहित ६० रनको योगदान दिए। उनले ४६ बलमै ५० रन पूरा गरेका थिए। यस्तै, थरिन्दु रत्नायकेले २३ बलमा २६ रन र आरिफ शेखले २५ बलमा १६ रन जोड्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याएका थिए। ऐरी र शेखबीच ५४ रनको साझेदारी भएको थियो।
पावरप्लेमा सुदूरपश्चिमको कमजोर सुरुवात
सुदूरपश्चिम रोयल्सले पावरप्ले (१-६ ओभर) मा २१ रन बनाउँदै ४ विकेट गुमाएको थियो। काठमाडौं गुर्खाजका लागि जहान्दाद खानले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने सन्तोष यादवले ३ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए। सन्तोष यादवले दोस्रो ओभरमा २ विकेट लिएका थिए।
जवाफमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गुर्खाजले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। काठमाडौंका लागि रशिद खानले अविजित ३५ रन र दुशान हेमान्थाले २१ रन बनाए पनि जितका लागि पर्याप्त भएन। साम हेजलेटले ११ रन बनाएका थिए। काठमाडौंले पावरप्लेमा ३२ रन बनाउँदै ३ विकेट गुमाएको थियो।
अनिल खरेलको कसिलो बलिङ
सुदूरपश्चिम रोयल्सका बलर अनिल खरेलले ४ ओभरमा १८ रन दिएर २ विकेट लिए भने स्कट कुगेलीजिनले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए। अनिल खरेलले नवौं ओभरमा २ विकेट लिएर काठमाडौंको मध्यक्रममा ठूलो धक्का दिएका थिए, जसले सुदूरपश्चिम रोयल्सलाई जित दिलाउन मद्दत पुग्यो।
यो जितसँगै सुदूरपश्चिम रोयल्स ७ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। काठमाडौं गुर्खाज भने ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ।