NM Khabar 11 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सिरहामा सामान्य विवादको बदलामा भारतीय सुटर प्रयोग गरी दुईको हत्या, दुई पक्राउ

सिरहामा सामान्य विवादको बदला लिन भारतीय सुटर प्रयोग गरी दुई जनाको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सिरहा नगरपालिका–१ का उपेन्द्र यादव र औरही गाउँपालिका–५ का हरि ठाकुर पक्राउ परेका छन्। एक हत्यामा ३ लाख र अर्कोमा ५० हजार सुपारी दिइएको थियो।
Kamala Devi
Kamala Devi
11 May 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
Share:

सिरहामा सामान्य विवादको बदला लिन भारतीय सुटर प्रयोग गरी दुई जनाको हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सिरहा नगरपालिका–१ का उपेन्द्र यादव र औरही गाउँपालिका–५ का हरि ठाकुर पक्राउ परेका छन्।

सिरहा नगरपालिका–१ का ४२ वर्षीय प्रेमनाथ यादवको गत माघ १६ गते आफ्नै खेतमा जोतिरहेको अवस्थामा गोली हानी हत्या भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उपेन्द्र यादवको मृतकको परिवारसँग विगत चार वर्षदेखि रिसिइबी थियो। उपेन्द्रले प्रेमनाथको हत्याका लागि भारतीय आपराधिक गिरोहलाई तीन लाख रुपैयाँ सुपारी दिएको खुलेको छ।

गिरोहले एक लाख रुपैयाँ एडभान्स लिएर सुटर पठाएर हत्या गराएको थियो। उपेन्द्रले बाँकी दुई लाख रुपैयाँ भने भारतीय गिरोहलाई अझै नदिएको प्रहरी अनुसन्धानले देखाएको छ। भारतीय आपराधिक गिरोहको पहिचान भइसकेको छ।

उपेन्द्रलाई जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी रमेशबहादुर पालले जानकारी दिए।

यस्तै, २०८२ माघ ४ गते औरही गाउँपालिका–५ जितिया मन्दिरका पुजारी ५५ वर्षीय श्यामसुन्दर शर्माको पनि टाउको पछाडि गोली हानी हत्या भएको थियो। उनी चुकुल लगाएर सुतिरहेका थिए।

यस घटनाको अनुसन्धानबाट सोही ठाउँका ५५ वर्षीय हरि ठाकुरले पारिवारिक रिसिइबी साध्न भारतीय सुटरलाई सुपारी दिएको खुलेको छ। भारतीय सुटरलाई ५० हजार रुपैयाँमा पुजारी शर्माको हत्या गर्न ठाकुरले सुपारी दिएका थिए।

डीएसपी पालले घटनाको कारण सामान्य भए पनि यसको प्रकृति र प्रवृत्ति डरलाग्दो रहेको बताए। संलग्नहरूको पहिचान भइसके पनि उनीहरू भारतमा लुकेर बसेकाले पक्राउ गर्न समय लागिरहेको प्रहरीको भनाइ छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार