चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण १०.२ प्रतिशतले बढेको थियो। चैत महिनामा मात्रै २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलरमा हेर्दा, समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले बढेर ११.५५ अर्ब डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ७.५ प्रतिशतले बढेको थियो।
विप्रेषणको बलियो वृद्धिसँगै खुद द्वितीयक आय १८ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुग्यो। अघिल्लो वर्ष यो १३ खर्ब ३ अर्ब १२ करोड रुपैयाँ थियो।
यस अवधिमा वैदेशिक रोजगारीका लागि पहिलो पटक श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ९४ हजार १८६ रहेको छ। यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ९३ हजार २५९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः ३ लाख ५८ हजार २२२ र २ लाख ४९ हजार ६५२ थियो।
विदेशी मुद्रा सञ्चिति ३५ खर्ब नजिक
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ चैत मसान्तसम्म आइपुग्दा ३०.५ प्रतिशतले बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा कुल विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९.५० अर्ब डलर रहेकोमा २०८२ चैत मसान्तमा २०.८ प्रतिशतले बढेर २३.५५ अर्ब डलर पुगेको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २७.७ प्रतिशतले बढेर ३० खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंकबाहेक) सँग रहेको सञ्चिति ५६.८ प्रतिशतले बढेर ४ खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।
२०८२ चैत मसान्तमा कुल सञ्चितिमा भारतीय मुद्राको अंश २०.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। हालको सञ्चितिले २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ।
भुक्तानी सन्तुलन ७ खर्ब ३१ अर्ब, चालु खाता ६ खर्ब १८ अर्ब बचतमा
समीक्षा अवधिमा मुलुकको समग्र भुक्तानी सन्तुलन (BoP) ७ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ। यो अघिल्लो वर्षको सोही अवधिको ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँको बचतभन्दा दोब्बरभन्दा बढी हो।
अमेरिकी डलरमा भुक्तानी सन्तुलन ५.१० अर्ब डलरले बचतमा रहेको छ, जुन अघिल्लो वर्ष २.५५ अर्ब डलरले बचतमा थियो।
यसैगरी, चालु खाता ६ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ। यो अघिल्लो वर्षको २ खर्ब २२ अर्ब ६७ करोड रुपैयाँको बचतभन्दा निकै बढी हो। अमेरिकी डलरमा चालु खाता ४.३२ अर्ब डलरले बचतमा छ।
समीक्षा अवधिमा खुद पुँजी स्थानान्तरण १४ अर्ब ५० करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १४ अर्ब ५५ करोड रुपैयाँ प्राप्त भएको छ।
