मोरङको लेटाङ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर साह कोशी प्रदेशको २०८३ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई उत्कृष्ट कार्यसम्पादनको प्रमाणपत्र प्रदान गर्यो। कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले साहलाई प्रमाणपत्र प्रदान गरे। प्रमाणपत्रमा साहले उच्च मनोबल र साहसका साथ पदीय जिम्मेवारी निर्वाह गरेको उल्लेख छ।
लेटाङ प्रमुखको रूपमा साहले फैसला कार्यान्वयनमा उल्लेख्य कार्य गरे। उनले प्रहरी परिचालन गरी फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराए।
प्रविधिमैत्री सेवाका लागि उनले ड्रोन क्यामेरा प्रयोग गरे। यसले अपराध रोकथाम र अनुसन्धानलाई प्रभावकारी बनायो।
उनले नागरिक सहायता कक्षमा डिस्प्ले बोर्ड जडान गरे। यसबाट सचेतनामूलक सन्देश प्रवाह भयो। सञ्चार शाखा निर्माण गरे, हिरासत कक्षमा पुस्तकालय स्थापना गरे।
यी कार्यले गत चैत महिनामा लेटाङ इलाका प्रहरी कार्यालयलाई जिल्लाकै उत्कृष्ट प्रमाणपत्र दिलाएको थियो।
