NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वैदेशिक रोजगार विभागका नासु १५ हजार घुससहित पक्राउ: अख्तियारको मुद्दा

वैदेशिक रोजगार विभाग ताहाचलका नायब सुब्बा हेमबहादुर मस्राङ्गी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Arjun Basnet
Arjun Basnet
8 May 2026, 8:06 pm १ मिनेट पढाइ
आकार:
Share:

वैदेशिक रोजगार विभागका नायब सुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध १५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

अख्तियारले मस्राङ्गीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानकै क्रममा अख्तियारको टंगालस्थित टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानबाट मस्राङ्गीले वैदेशिक रोजगारसम्बन्धी मुद्दा मिलापत्रका लागि अगाडि बढेको अवस्थामा विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दु:ख हैरानी दिएको, तारेखमा बस्न नपर्ने, मुद्दा नचल्ने निर्णय गराइदिने तथा कारबाही टुंग्याउन सहजीकरण गरिदिने भन्दै १५ हजार रुपैयाँ घुस माग गरी लिएको स्थापित भएको अख्तियारले जनाएको छ।

आयोगले मस्राङ्गीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (१) अनुसार कसुर कायम गरी १५ हजार रुपैयाँ बिगो, सो बराबर जरिवाना तथा कैद सजायको मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार