गोरखाको चुमनुब्री गाउँपालिका–६ मा असोज २५ गते गएको हिमपहिरो र भूस्खलनपछिको बुढीगण्डकी बाढीले ५०८ जनाको उद्धार गरे पनि ५ जना स्थानीयसहित ६ जना अझै बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को असोज २७ गते राति १०:०० बजेसम्मको प्रतिवेदन नम्बर ३ अनुसार, बेपत्ता हुनेहरूमा चुमनुब्री गाउँपालिका–६, चुम्चेत उङ्गिलुङका ६५ वर्षीय सोनाम लामा, ६० वर्षीया लाप्पा ठोर्मा लामा, ६८ वर्षीय कर्मा लामा, ६० वर्षीया सोम्बुती लामा र ४१ वर्षीय तेन दोर्जे लामा रहेका छन्। उनीहरूको खोजी कार्य जारी छ।
दशैंको मुखमा २०० भन्दा बढी घरमा क्षति
दशैंको घटस्थापनाको दिन आएको बुढीगण्डकी बाढीले शान्ति बजारका ४० भन्दा बढी घर बगाएको थियो। बाढीले गोरखा र धादिङका २०० भन्दा बढी घरमा क्षति पुर्याएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, विशालनगरमा मात्रै ५८ घरधुरी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १४ घरधुरीका भौतिक संरचनामा आंशिक क्षति पुगेको छ। कुल ७२ घरधुरीका ३०८ जना प्रभावित भएका छन्।
बाढीले घर तथा अन्य संरचनामा क्षति पुर्याउनुका साथै करिब १४० देखि १५० वटा चौपाया बगाएको प्रारम्भिक अनुमान छ। सल्लेरी क्षेत्रमा बिहान करिब ४:३० बजे बाढीको पहिलो छाल पुगेको थियो। बिहान करिब ६:३० बजे आएको २० देखि २५ मिटर अग्लो अर्को ठूलो छालले जलविद्युत् आयोजनाको क्याम्प बगाएको प्रतिवेदनमा उल्लेख छ।
५ जलविद्युत् आयोजना र ९ पुलमा क्षति
बाढीले यस क्षेत्रका महत्त्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार पाँचवटा जलविद्युत् आयोजना, एउटा विद्यालय र नौवटा पुलमा क्षति पुगेको छ। क्षति पुगेका पुलहरूमा दुईवटा पक्की पुल, पाँचवटा झोलुङ्गे पुल, एउटा बेली ब्रिज र एउटा क्यान्टिलिभर पुल छन्।
क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजना, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजना, ३०.५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजना रहेका छन्। विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि आयोजना पूर्ण रूपमा बन्द भएको छ। बाढीले उत्तरी गोरखाका करिब पाँच हजार घर विद्युतविहीन बनेका छन्।
८०० सुरक्षाकर्मी परिचालन, २०८ हवाई उडान
बाढीपछिको उद्धार, खोजी तथा राहत वितरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कुल ८०० सुरक्षाकर्मी परिचालन गरिएका छन्। नेपाली सेनाका पाँचवटा हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट मानिसको उद्धार गर्नुका साथै खाद्यान्न, आवास सामग्री र अत्यावश्यक राहत सामग्री पुर्याउने काम भइरहेको छ। बाढी आएको तीन दिनमा कुल २०८ वटा हवाई उडान सम्पन्न भएको छ।
गोरखा र धादिङका बाढी प्रभावित परिवारका लागि २०८ वटा टेन्ट वा त्रिपाल, ५५५ वटा म्याट्रेस, ६८० वटा कम्बल र ४३२ वटा स्लिपिङ ब्याग उपलब्ध गराइएको छ। खाद्यान्नतर्फ ८७० वटा फुड बास्केट, २७० बोरा चामल तथा चिउरा, चाउचाउ र बिस्कुट पठाइएको छ। फिलिम क्षेत्रका लागि पनि एमआई हेलिकप्टरबाट शीतकालीन टेन्ट, चिनियाँ टेन्ट, खाद्यान्न, चामल, नुन, दाल तथा विभिन्न प्रकारका लत्ताकपडा पठाइएको छ।
दशैंअगावै सडक सञ्चालनको प्रयास
दशैंअगावै अवरुद्ध सबै सडकहरू सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। आरुघाट-सल्यानटार जोड्ने पुलका लागि हेटौंडाबाट बेलिब्रिजका सामग्री ल्याएर तीव्र रूपमा काम भइरहेको छ। बुढीगण्डकी नदी सिउरेनीटारमा त्रिशूली नदीमा मिसिने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिशूलीदेखि नारायणी नदी आसपासका क्षेत्रसम्म सतर्कता अपनाउन आग्रह गरेको छ। यसले चितवन र नवलपरासी पूर्व तथा पश्चिमका तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाउन सक्ने भएकाले त्यहाँका बासिन्दालाई पनि सतर्क रहन अनुरोध गरिएको छ।
बाढीको वास्तविक कारण र कुल क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी छ।
यसअघि: बुढीगण्डकी बाढी: दशैंको मुखमा शान्ति बजारका बासिन्दाको सर्वस्व गुम्यो, ६ जना बेपत्ता
