NM Khabar 9 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली प्रमाणपत्रमा २३ वर्ष जागिर: वडा सचिव काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जाका वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीमाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी २३ वर्षसम्म सरकारी सेवामा जागिर खाएको आरोप छ। भारतको असमबाट ल्याइएको नक्कली प्रमाणपत्रका आधारमा उनले विभिन्न पदमा बढुवासमेत पाएका थिए।
Arjun Basnet
Arjun Basnet
9 July 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
नक्कली प्रमाणपत्र भ्रष्टाचार मुद्दा
Share:

भारतको असम प्रदेशबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २३ वर्ष सरकारी सेवामा बिताएका स्याङ्जाका वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार काफ्लेविरुद्ध आरोपपत्र दर्ता गरेको हो।

काफ्लेले अध्ययन नै नगरी भारतको असम प्रदेशको गुवाहाटीस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसनबाट सन् १९९८ मा एसएलसी सरहको ‘एचएसएलसी’ उत्तीर्ण गरेको झूटो प्रमाणपत्र पेस गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए। सोही नक्कली प्रमाणपत्रका आधारमा उनले २३ वर्षभन्दा बढी समय सरकारी सेवामा जागिर खाएका थिए।

काफ्ले २०५७ जेठ २ गते अर्जुनचौपारी गाउँ विकास समितिको कार्यालयमा कार्यालय सहयोगी पदबाट सेवा प्रवेश गरेका थिए। त्यसपछि उनले २०६४ साउन ६ मा खरिदार, २०६७ कात्तिक १५ मा कार्यालय सहायक मुखिया, २०७२ माघ १ मा सहायक चौथो तह र २०७९ माघ १० मा सहायक पाँचौँ तहमा बढुवा पाएका थिए।

झूटो प्रमाणपत्र पेस गरी सरकारी सेवा, ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ बमोजिम सजाय मागदाबी गरेको छ।

नक्कली प्रमाणपत्र पेस गरेको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो। अनुसन्धानमा प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि विशेष अदालतमा मुद्दा चलाइएको आयोगले जनाएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार