सार्वजनिक जग्गा खाली गराउने सरकारी अभियानबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश धिमालको घर बाराको कोल्हबी नगरपालिका-१ स्थित ऐलानी जग्गामा रहेको पुष्टि भएको छ।
देशभर ऐलानी, पर्ती र गुठी जग्गा खाली गराउने सरकारी अभियान जारी छ। यसअघि पर्यटनमन्त्री गणेश पौडेल र सांसद केपी खनालको घर पनि ऐलानी जग्गामा रहेको खुलासा भएको थियो।
मेयर रामप्रसाद चौधरीका अनुसार, धिमालको दुईतल्ले घर पञ्चायतकालअघिसम्म सार्वजनिक जग्गामा थियो। कोल्हबी बजारमा धिमालसहित ४०-५० घर ऐलानी पर्ती जग्गामा बनेका छन्।
मेयर चौधरीले भने, ‘अहिले बजार बनेको ठाउँ पहिले सार्वजनिक जग्गा थियो।’ ‘पञ्चायतकालमा मुखियाका परिवारले कब्जा गरेर निजी बनाए, अहिले त्यसैले निरन्तरता पाएको छ,’ उनले थपे, ‘बजार बनिसक्यो, धिमालहरूले अब के छाड्नुहुन्थ्यो र?’
सांसद धिमालले आफ्नो घर सार्वजनिक ऐलानी जग्गामा रहेको स्वीकार गरेका छन्। उनले घर करिब ४० वर्षअघि बनेको र त्यतिबेला कोल्हबी बजारका जग्गा ऐलानी रहेको बताए।
धिमालले कानुनभन्दा माथि कोही नभएको बताए। सरकारले यस क्षेत्रका सबै घर भत्काए आफ्नो घर पनि भत्काइने उनले स्पष्ट पारे। यसमा कुनै अवरोध नहुने र सरकारलाई सहज वातावरण बनाउन तयार रहेको उनको भनाइ छ।
दुई दिनअघि सर्वोच्च अदालतले वैकल्पिक व्यवस्था नगरी घर नभत्काउन आदेश दिएको थियो। सो आदेशपछि बालेन्द्र साह नेतृत्वको काठमाडौं महानगरपालिकाले घर टहरा भत्काउने काम रोकेको छ।
तर, पालिकाहरूले अदालतको आदेशलाई बेवास्ता गर्दै घर तोड्ने कार्यमा तल्लीन छन्। सांसद धिमालको घर भत्काइन्छ वा डोजर लगाइन्छ भन्ने प्रश्न सामाजिक सञ्जालमा जोडतोडले उठिरहेको छ।
