सिरहामा ‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ जस्ता ग्याङ्गको नाममा सामाजिक सञ्जालमा आतङ्क मच्चाउने २५ जना युवा पक्राउ परेका छन्। उनीहरू टिकटक र फेसबुकमा गालीगलौज तथा धम्कीयुक्त भिडियो पोस्ट गर्ने गरेको प्रहरीले जनाएको छ।
यी समूहका युवाहरूले ट्राफिक नियमको पूर्ण उल्लङ्घन गर्थे। बिनाहेलमेट, कागजपत्रविना र तीन/चार जना चढेका मोटरसाइकलमा राजमार्गमा होहल्ला मच्चाउँथे। सिरहा–चोहर्वा सडकखण्डमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सप्तरीका १२, सिरहाका लहान नगरपालिकाका २, विष्णुपुर गाउँपालिकाका ६ र भगवानपुर गाउँपालिकाका ५ जना युवा छन्। प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाइकल बरामद गरेको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।
