सर्लाहीमा पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका १० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेकै विषयमा पटक पटक धम्की दिएको आरोपमा झालाई पक्राउ गरिएको हो।
पत्रकार अलीले गत फागुन ५ गते स्तुती सौम्य हेल्थ केयरमा उपचारका क्रममा विष्णु गाउँपालिका ६ निवासी ३ महिनाका अभि बैठाको मृत्यु भएको घटनाबारे समाचार तयार गरेका थिए।
समाचार सार्वजनिक भएपछि डा. झाले समाचार हटाउन दबाब दिने, फोन तथा सामाजिक सञ्जालमार्फत गालीगलौज र धम्की दिने गरेको आरोप छ। धम्की र दबाब बढेपछि पत्रकार अलीले नेपाल पत्रकार महासंघलाई जानकारी गराएका थिए।
नेपाल पत्रकार महासंघ सर्लाही शाखा र मधेश प्रदेश समितिले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषी उपर कारबाहीको माग गरेका थिए। महासंघले कानुनी प्रक्रिया अपनाउन सकिने भए पनि पत्रकारलाई धम्क्याउने कार्य प्रेस स्वतन्त्रताविरुद्ध भएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
