केन्याको गिलगिलस्थित उतुमिशी गर्ल्स स्कुलको छात्राबासमा आगलागी हुँदा कम्तीमा १६ जना विद्यार्थीको मृत्यु भएको छ। ७४ जना विद्यार्थी घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
यो आगलागी बिहीबार बिहान सबेरै भएको हो। अधिकांश विद्यार्थी सुतिरहेको अवस्थामा छात्रावास भवनमा आगो फैलिएको थियो।
केन्या रेडक्रस र प्रहरीका अनुसार स्थानीय समयअनुसार राति करिब १ बजे २२० जना विद्यार्थी बस्ने छात्रावासमा आगो लागेको थियो। आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।
आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन्। प्रहरीले विद्यालय क्षेत्रलाई घेराबन्दी गरेको छ। हाल अभिभावकहरूलाई मात्र प्रवेश दिइएको छ।
केन्या रेडक्रसले प्रभावित विद्यार्थीहरूलाई सहयोग गर्न राहत टोली परिचालन गरेको छ। प्रत्यक्षदर्शीका अनुसार केही विद्यार्थीले झ्यालबाट हाम फालेर ज्यान बचाउने प्रयास गर्दा घाइते भएका हुन्।
