मन्त्रिपरिषद् बैठकले २०८० साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित सुरक्षा संयन्त्र अध्ययन समितिको कार्यावधि ४५ दिनले थप गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए। पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा रहेको समितिले सुरक्षा संयन्त्रको भूमिकाबारे अध्ययन गरी सिफारिस गर्नेछ।
यस्तै, बैठकले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम अन्तर्गत ओजन तहलाई हानी पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौतालाई पनि स्वीकृत गरेको छ।
भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला र सदस्यहरूमा अमीरप्रसाद न्यौपाने, पद्मनीति सोती तथा डा. रोहना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय पनि बैठकले गरेको छ।
