कञ्चनपुरका १५ सडक आयोजनाको ठेक्का निर्माण कार्य अलपत्र पारेको भन्दै तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीसँगको सम्झौताअनुसार म्याद सकिँदासम्म पनि काम सम्पन्न नभएपछि यो कदम चालेको हो।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार काम नगरी ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीहरूको ठेक्का रद्द गरिएको हो। उनले कार्यालयसँग सम्झौता गरेर समयमै काम नगर्ने २५ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएकोमा १० वटाले अहिले धमाधम काम गरिरहेको र असार मसान्तसम्म काम सम्पन्न नगरेमा ती ठेक्का पनि अन्त्य गरिने बताए।
आव २०७८/७९ देखि सुरु भएका धेरैजसो सडक आयोजनामा प्रगति न्यून देखिएपछि कार्यालयले यस्तो निर्णय लिएको हो। ठेक्का लिएका निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा स्थानीय बासिन्दाले चर्को गुनासो गर्दै आएका थिए। केही सडकमा त प्रारम्भिक कामसमेत नगरी वर्षौंदेखि अलपत्र छाडिएको अवस्था छ।
कार्यालयका अनुसार एसएन निर्माणका चार, नागार्जुनको चार, राधाभानुका दुई, गणपतिका चार तथा आरपी कन्स्ट्रक्सनको एक वटा ठेक्का तोडिएको छ।
ठेक्का रद्द गरिएका निर्माण व्यवसायीबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ र ठेक्का सम्झौताको प्रावधानबमोजिम कालोसूचीमा राख्न सिफारिस गरिनेछ। साथै, ठेक्का सम्झौताको प्रावधानअनुसार कार्यसम्पादन जमानत र धरौटीबापतको रकम जफत गरिने कार्यालयले जनाएको छ।
कार्यालयले ठेक्का सम्झौता तोड्दै निर्माण व्यवसायीलाई १५ दिनभित्र वित्तीय फरफारक गर्न समय दिएको छ। ठेक्का तोडिने सूचीमा ग्रामीण भेगका अधिकांश सडक परेका छन्। यी सडक नबन्दा स्थानीय बासिन्दाले दैनिक आवतजावत, कृषि उपज ढुवानी र आधारभूत सेवा लिन कठिनाइ भोग्दै आएका छन्। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण जोखिमसमेत बढेको छ।
