कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ नारालाई निरन्तरता दिएको छ। यो नारा प्रदेशको दीर्घकालीन मार्गचित्र हो।
खानेपानी क्षेत्रको ‘एक घर, एक धारा’ अवधारणा यस वर्षको बजेटमा पनि समावेश छ। यसलाई प्रदेश सरकारले गौरवको योजना मानेको छ। महिला सशक्तीकरणका लागि ‘सक्षम छोरी’ कार्यक्रम र युवालाई विकृतिबाट टाढा राख्न ‘म अघि बढ्छु’ अभियान पनि निरन्तर छन्। यी अभियानले तीनवटै बजेटमा स्थान पाएका छन्।
कृषि सुधारका लागि ‘स्वस्थ माटो, स्वच्छ बाली’ अभियान विगतका तीन बजेटमा दोहोरिएको छ। यसले माटो परीक्षण र प्राङ्गारिक मल प्रयोगलाई सरकारको प्राथमिकता देखाउँछ।
तर, विगतका केही नारा बजेट वक्तव्यमा हराएका छन्। आर्थिक वर्ष २०८१–८२ को ‘कोशी प्रदेशको सान, ज्येष्ठ नागरिकको सम्मान’ नारा पछिल्ला बजेटमा देखिएन। सोही वर्षको ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ नारा पनि हटाइएको छ। यद्यपि, ‘कोशी प्रदेश भ्रमण वर्ष’ को अवधारणा भने कायम छ।
यस पटकको बजेटमा चुरे संरक्षणका लागि ‘चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ नयाँ नारा अघि सारिएको छ। यसअन्तर्गत चुरे क्षेत्रको जग्गा संरक्षण, जल पुनर्भरण पोखरी निर्माण, पहिरो नियन्त्रण र बायोइन्जिनियरिङका कामहरू गरिनेछन्।
गैरआवासीय नेपालीलाई मातृभूमिमा जोड्न ‘नेपाली मन, आत्मीयपन’ नारा घोषणा गरिएको छ। स्वास्थ्य चेतनाका लागि ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराले नसर्ने रोग रोकथाममा जोड दिएको छ। यसका लागि समुदायस्तरमै स्क्रिनिङ र सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।
महिलाहरूको प्रजनन स्वास्थ्य र क्यान्सर निदानका लागि ‘समयमै पहिचान, समयमै उपचार; महिलाको स्वास्थ्य हाम्रो सरोकार’ नारा समावेश छ। यसले पाठेघर र स्तन क्यान्सरको निःशुल्क परीक्षण र उपचारमा राज्यको उत्तरदायित्व बढाउने दाबी गरिएको छ। महिला स्वास्थ्य स्वयंसेविकाहरूको सम्मानमा ‘महिला स्वास्थ्य स्वयंसेविकाको सम्मान, स्वस्थ समाज निर्माणमा निरन्तर योगदान’ नारा अघि सारिएको छ।
