कागज बोकेर सेवाग्राही होइन, कर्मचारी कुद्नुपर्ने गृहमन्त्री सुधन गुरुङले मोरङ प्रशासनलाई निर्देशन दिएका छन्।
शनिबार मोरङको जिल्ला प्रशासन कार्यालय निरीक्षण गर्दै गृहमन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई निर्देशन दिए। उनले प्रक्रियागत झन्झट हटाएर एकीकृत र जनमैत्री सेवा प्रवाह गर्न आदेश दिए।
गृहमन्त्री गुरुङले सेवाग्राहीलाई एउटै झ्यालबाट कागजात बुझाएपछि अर्को कोठा चहार्न नपर्ने व्यवस्था मिलाउन जोड दिए। उनले भने, “कागज लिएर सेवाग्राही कुद्ने होइन कि कर्मचारी कुद्नुपर्यो।”
विराटनगरको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले सेवाग्राहीलाई तातो घाममा लामबद्ध नगराउन निर्देशन दिए। उनले शितलमा बस्ने व्यवस्था मिलाउन र तत्काल टोकन प्रणाली लागू गर्न आदेश दिए।
उत्कृष्ट काम गर्ने कर्मचारीको मासिक कार्यमूल्याङ्कन गरिने गृहमन्त्री गुरुङले बताए। काम नगर्नेलाई भने कारबाही गरिने चेतावनी उनले दिए।
प्रशासन कार्यालयमा कर्मचारीका लागि सफा र सेवाग्राहीका लागि दुर्गन्धित शौचालय भेटिएकोमा गृहमन्त्री गुरुङले गम्भीर आपत्ति जनाए। उनले यस प्रकारको विभेद तत्काल सच्याउन निर्देशन दिए।
जिल्ला प्रशासन कार्यालयसँग पर्याप्त जग्गा रहेको पाइएपछि गृहमन्त्री गुरुङले प्राविधिकहरूसँग समन्वय गर्न आदेश दिए। एउटै ठूलो हल र छानामुनिबाट एकीकृत सेवा दिने गरी भौतिक संरचनाको डिजाइन गर्न उनले निर्देशन दिए।
यसैगरी, गृहमन्त्री गुरुङले जोगबनी सीमा नाका, विराटनगर भन्सार र जिल्ला प्रहरी कार्यालयको समेत स्थलगत निरीक्षण गरे। उनले प्रहरीको जीर्ण भौतिक पूर्वाधार र सीमा सुरक्षाको अवस्थाबारे जानकारी लिए।
प्रहरी कार्यालयका जीर्ण भवनहरूको समस्याप्रति सरकार गम्भीर रहेको मन्त्री गुरुङले बताए। आवश्यक बजेट व्यवस्थापन गरी निर्माण कार्यलाई प्राथमिकता दिइने उनको भनाइ थियो।
