NM Khabar 10 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

माछाको भुरामा ७२ लाख भ्रष्टाचार: तत्कालीन प्रमुखसहित ४ विरुद्ध मुद्दा दायर

माछाको भुरा वितरणमा ७२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा धनुषा कृषि विकास कार्यालयका तत्कालीन प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियारले छानबिनपछि कारबाही अघि बढाएको हो।
Arjun Basnet
Arjun Basnet
10 July 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा धनुषा
Share:

धनुषा जिल्ला कृषि विकास कार्यालयका तत्कालीन प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध ७२ लाख ५९ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि छानबिनपछि कारबाही अघि बढाएको हो।

आयोगले तत्कालीन कार्यालय प्रमुख झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणलाई प्रतिवादी बनाएको छ। उनीहरूले आर्थिक वर्ष २०७४/०७५ मा कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत माछाको भुरा वितरणका लागि विनियोजित २ करोड ३४ लाख २८ हजार रुपैयाँमध्ये ठूलो रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ।

सरकारी फार्मबाट खरिद गर्नुपर्ने माछाको भुरा निजी फार्मबाट खरिद गरिएको, प्राप्त नै नभएको भुरालाई प्राप्त भएको देखाइएको तथा नक्कली बिल, भरपाई र किसानको नाममा झुट्टा कागजात तयार गरी सरकारी रकम भुक्तानी गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार भुरा नपाएका किसानको नाममा समेत वितरण भएको झुट्टा विवरण तयार गरिएको थियो। नक्कली नाम, ठेगाना, वितरण विवरण र हस्ताक्षरसहितका कागजात बनाएर ७२ लाख ५९ हजार ९० रुपैयाँ बराबरको सरकारी रकम अनियमित भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ।

आयोगले चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम समान ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो कायम गर्दै कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ। निजी फार्मका सञ्चालक राम सुदिश शरणलाई मतियार बनाएर गैरकानुनी लाभ लिएको अभियोग पत्रमा उल्लेख छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार