कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार ढलेमा प्रदेशसभा विघटन हुन सक्ने संवैधानिक र कानुनी बाटो रहेको बताएका छन्। उनले स्वेच्छाचारी ढंगले त्यस्तो निर्णय नलिने र दलहरूसँग सल्लाह गरेर मात्र अगाडि बढ्ने स्पष्ट पारे।
मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकारको हकमा नयाँ सरकार गठन प्रक्रिया जटिल हुने उल्लेख गरे। यसको निराकरणका लागि मध्यावधि निर्वाचनमा जान सकिने वा विधि पुर्याएर नेतृत्व परिवर्तन गर्न सकिने उनको भनाइ छ। दलगत हिसाबले दुई ठूला दल (एमाले र कांग्रेस) ले सल्लाह गरेर निष्कर्षमा पुग्दा आफू त्यसलाई मान्न तयार रहेको उनले बताए।
नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने चर्चा चलिरहेको सन्दर्भमा मुख्यमन्त्री कार्कीले केन्द्रको निर्देशन आएपछि कांग्रेसले राजीनामा दिन सक्ने बताए। तर, आज बिहानसम्मको कुराकानीमा तत्काल राजीनामा दिने स्थिति नदेखिएको उनको भनाइ छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा जस्तो कोशीमा कांग्रेस र एमालेबीच कुनै असमझदारी नभएको र सम्बन्ध सुमधुर रहेको उनले दाबी गरे।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध चिसिएको र उनले आफूलाई हटाउन कांग्रेस सांसदहरूसँग कुरा गरेको भन्ने मिडियामा आएका समाचारलाई मुख्यमन्त्री कार्कीले पूर्णतया काल्पनिक र अविश्वसनीय भनेका छन्। ओली विधि, पद्धति र प्रक्रियामा पारङ्गत नेता भएको र यस्ता कुरामा विश्वास नलाग्ने उनको भनाइ छ।
एमालेभित्र पार्टी पुनर्गठन वा नेतृत्व परिवर्तनको बहस चलिरहेको बेला आफूले ओलीको विरोधी पक्षमा लबिङ गरेको भन्ने कुराको पनि उनले खण्डन गरे। पार्टीको सचिवालय बैठकले निर्वाचन समीक्षासहित देशव्यापी राय सुझाव सङ्कलन गरी पार्टीलाई अगाडि बढाउने कार्यदिशा तय गरेको र यसमा पार्टी पंक्ति एकमत रहेको उनले बताए।
बजेट पारित गर्ने बेला एमाले र कांग्रेसभित्र केही आन्तरिक समस्या देखिए पनि त्यसको समाधान भइसकेको र हालको परिस्थितिमा त्यसको असर नपरेको उनको भनाइ छ। कोशी प्रदेशमा पटकपटक सरकार परिवर्तन र मन्त्री थपिने-हटाइनुले जनतामा नराम्रो सन्देश गएको स्वीकार गर्दै उनले यस्ता गतिविधिले प्रदेशलाई अस्थिर बनाउने पक्षमा आफू नरहेको र राजनीतिक स्थिरता चाहेको बताए।
मुख्यमन्त्री कार्कीले आफ्नो सरकार ढल्ने अवस्थामा जोगाउन कांग्रेस बाहेकका दलसँग पनि छलफल भइरहेको स्वीकार गरे। सबै मिलेर प्रदेशलाई सक्षम र सबल बनाउनुपर्ने र प्रदेशसभालाई बीचमा विघटनतिर लैजान नहुने उनको मान्यता छ।
