काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार भेटघाटमा समूहलाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार समूहले महिला र वृद्धाहरूलाई लक्षित गरी लुटपाट गर्थ्यो। प्रतिकार गर्ने पीडितलाई घाँटी थिच्ने, कुटपिट गर्ने र घाइते बनाउने गरेको अनुसन्धानबाट खुलेको छ। विगतका गुण्डागर्दी, चोरी र लुटपाट घटनाको विश्लेषण गरी प्रहरीले समूहका सदस्यहरूको पहिचान गरेको थियो।
कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपाका सिक्री लुटपाटमा संलग्न चार जनालाई गत साउन १५ गते बनेपाबाट पक्राउ गरिएको थियो।
समूहका नाइके सिन्धुपाल्चोकको मेलम्ची–४ घर भई बौद्ध बस्ने ३४ वर्षीय कर्मा तामाङको पहिचान भएपछि प्रहरीले खोजी थालेको थियो। साउन १६ गते राति बुढानीलकण्ठ–१३, चुनिखेलस्थित गाम्चाको पानी ट्याङ्की नजिकबाट तामाङलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिने क्रममा तामाङले खुकुरी प्रयोग गरी आक्रमणको प्रयास गरेको प्रहरीले जनाएको छ। प्रहरीले दुई राउन्ड हवाई फायर गर्दा पनि आक्रमण जारी राखेपछि मोटरसाइकलमा भाग्न खोज्दा घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो।
घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घटनास्थलबाट प्रहरीले एक मोटरसाइकल, एक खुकुरी, पाँच नम्बर प्लेट र मोटरसाइकल चोरीमा प्रयोग हुने टी–लक तथा मास्टर की बरामद गरेको छ।
कर्मा समूहले २२० सीसीका पल्सर मोटरसाइकल चोरी गरी प्रयोग गर्ने गरेको खुलेको छ। चोरीका मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लुटपाटमा प्रयोग गर्ने र घटनापछि स्वरूप परिवर्तन गरी उपत्यका बाहिर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका पाँच जनामा नाइके कर्मा तामाङ, प्रतिमान गोले, पासाङ घिसिङ, आले गुरुङ र मनोज तामाङ छन्।
