NM Khabar 6 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

आठबीसकोट मेयर केसीसहित ११ जनाविरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा

रुकुम पश्चिमको आठबीसकोट दुग्ध सहकारीलाई ९१ लाख बढी अनुदान दुरुपयोग गरेको आरोपमा मेयर रवि केसीसहित ११ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। सहकारीले चिस्यान केन्द्र निर्माणका लागि विनियोजित रकम हिनामिना गरेको अख्तियारको दाबी छ।
Arjun Basnet
Arjun Basnet
6 August 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
भ्रष्टाचार मुद्दा आठबीसकोट
Share:

आठबीसकोट दुग्ध सहकारीलाई ९१ लाख १७ हजार ८७३ रुपैयाँ अनुदान गैरकानुनी रूपमा उपलब्ध गराई सरकारी सम्पत्ति दुरुपयोग गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशले २०७६/०७७ मा योग्यता नपुगेको सहकारीलाई यो रकम चिस्यान केन्द्र निर्माणका लागि दिएको थियो।

अनुसन्धानमा चिस्यान केन्द्र सञ्चालनमा नआएको जानकारी हुँदाहुँदै आठबीसकोट नगरपालिकाले सहकारीलाई ८० लाख २३ हजार ५१ रुपैयाँ बराबरको अनुदानमा मिल्क ट्यांकर र दुई सिङ्गल क्याब गाडी उपलब्ध गराएको खुल्यो। ती सवारीसाधन प्रयोगविहीन अवस्थामा छन्।

पशु अस्पताल तथा पशु सेवा कार्यालय, आठबीसकोट नगरपालिकाका पदाधिकारी र कर्मचारीले बदनियतपूर्वक सहकारीलाई लाभ पुर्‍याई सरकारलाई आर्थिक हानि पुर्‍याएको अख्तियारको ठहर छ। अनुदान प्राप्त सहकारीले पनि सरकारी रकम हिनामिना गरेको छ।

अनुदान दुरुपयोग प्रकरणमा संलग्न आठ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुल उपर, जरिवाना र कैद सजायको माग दाबी गरिएको छ।

मुद्दा दायर हुनेमा आठबीसकोट नगरपालिकाका मेयर रवी केसी, प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत ज्ञानकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन र कृषि विकास कार्यालयका कृषि अधिकृत मीन बहादुर केसी छन्।

यस्तै, आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीर बहादुर रोकाया, सचिव गोविन्द प्रकाश खड्का र कोषाध्यक्ष जुन कुमारी चनेलविरुद्ध पनि मुद्दा दायर भएको छ। मेयर केसीसँग ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो माग गरिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार