NM Khabar 20 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पासपोर्ट प्रकरण: अख्तियार प्रमुखको स्पष्टीकरण – प्रधानमन्त्रीको दबाब होइन

अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीको दबाब नरहेको र प्रमाण तथा कैफियत हेरेरै मुद्दा दर्ता गरिएको स्पष्ट पारेका छन्। उनले प्रधानमन्त्रीले प्रगति बुझ्न र सुझाव लिन बोलाउनु स्वाभाविक प्रशासनिक प्रक्रिया भएको बताए।
Arjun Basnet
Arjun Basnet
20 August 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
पासपोर्ट प्रकरण अख्तियार
Share:

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीको दबाब नरहेको स्पष्ट पारेका छन्। उनले आफूहरू प्रधानमन्त्री कार्यालयमा ‘थुनिएको’ भन्ने चर्चाको खण्डन गरे। आयोगलाई परामर्श र छलफलका लागि मात्रै बोलाइएको उनको भनाइ छ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै राईले तत्कालीन प्रधानमन्त्रीले कुनै विषयको प्रगति बुझ्न र सुझाव लिन बोलाउनु स्वाभाविक प्रशासनिक प्रक्रिया भएको बताए। ‘पासपोर्ट प्रकरणको विषयमा छलफल गर्न प्रधानमन्त्रीज्यूले बोलाउनुभएको हो,’ राईले भने, ‘त्यो विषयमा के भएको हो, तपाईंहरूले के गरिरहनुभएको छ भनेर बुझ्न र सुझाव लिन बोलाउन सकिन्छ।’

प्रधानमन्त्रीले बोलाएपछि आयोगका पदाधिकारी गएर छलफल गरेको र त्यसपछि प्रक्रिया अगाडि बढाएर मुद्दा दर्तासमेत गरिसकेको राईले जानकारी दिए। ‘उहाँले बोलाएपछि हामी गयौं र छलफल गर्‍यौं। त्यसपछि हामीले प्रक्रिया अगाडि बढाएर मुद्दा दर्तासमेत गरिसकेका छौं,’ उनले भने।

मुद्दाको अभियोजनपत्र वेबसाइटमै उपलब्ध रहेको उल्लेख गर्दै राईले प्रमाण र कैफियतका आधारमा मात्रै मुद्दा दायर गरिएको दाबी गरे। ‘मुद्दा दर्ता भइसकेको छ, अभियोजन वेबसाइटमै हेर्न सकिन्छ। कति कैफियत छ भन्ने कुरा अभियोजनपत्र हेरेपछि स्पष्ट हुन्छ,’ उनले भने, ‘कैफियतबिना हामीले मुद्दा लगेको अवस्था छैन।’

भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो दायित्व सरकारकै भएको स्मरण गराउँदै प्रमुख आयुक्त राईले सरकारमा बस्ने सबैले ऐन, नियम, कानुन, विधि र प्रक्रियाअनुसार काम गरे अख्तियारको आवश्यकता नै नपर्ने धारणा राखे।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार