नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) का सर्भेक्षक विन्देश्वर साह सुडीले पदीय मर्यादा विपरीत कार्य गरी रु तीन करोड ७१ लाख ८४ हजार ५५१ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगले २०४६ देखि २०८१ सम्मको अवधिमा सुडीले आर्जन गरेको उक्त रकमको स्रोत देखाउन नसकेको दाबी गरेको छ। सोही अवधिमा सुडीले रु छ करोड तीन लाख पचासी हजार ३० वैध आय आर्जन गरेको अभिलेख छ।
सर्भेक्षक सुडीको कुल सम्पत्ति रु नौ करोड ७५ लाख ६९ हजार ५८१ बराबरको रहेको आयोगले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को प्रचलित कानुन बमोजिम सम्पत्ति जफत गर्ने प्रयोजनार्थ सुडीकी पत्नी सुमीत्रादेवी साहलाई प्रतिवादी कायम गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए।
