त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। नदीको सतहदेखि खसेको पहिरोले सडकमा गम्भीर क्षति पुर्याएको छ। सडक पुनः सञ्चालन गर्न स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।
सडक योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरोको क्षति हेर्दा अध्ययन, विस्तृत डिजाइन र टेन्डर प्रक्रियामा लामो समय लाग्नेछ। त्यसैले दशैंअघि कृष्णभीरबाटै सडक सञ्चालनमा आउने सम्भावना निकै कम छ।
यसअघि कृष्णभीरलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानेर मर्मत भइरहेको थियो। जोखिम न्यूनीकरणका लागि भर्टिकल पाइलिङ पूरा भएको थियो। होरिजन्टल एन्करिङको काम बर्खापछि गर्ने तयारी थियो। काम नसकिँदै आएको पहिरोले सडकमा थप क्षति पुर्याएको हो।
सडक तत्काल खुल्ने अवस्था नभएपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ। प्राविधिक टोलीहरूले सम्भावित रुटको निरीक्षण गरिरहेका छन्। छोटो, सुरक्षित र व्यावहारिक मार्गलाई वैकल्पिक रुटका रूपमा अघि बढाइने सडक योजनाले जनाएको छ।
