NM Khabar 31 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारद्वारा विपद् व्यवस्थापन कानुनको पुनरावलोकन गर्ने निर्णय

सरकारले विपद् व्यवस्थापन, पूर्वतयारी र पुनर्निर्माणलाई प्राथमिकता दिँदै विद्यमान कानुनको पुनरावलोकन गर्ने निर्णय गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा बसेको उच्चस्तरीय समिति बैठकले यो निर्णय गरेको हो। नयाँ कानुन निर्माण गर्दा नेपालको भूगोल, वातावरण, सामाजिक संरचना र भविष्यका जोखिमलाई समेत आधार बनाइनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
31 August 2026, 6:34 pm १ मिनेट पढाइ
आकार:
विपद् व्यवस्थापन कानुन
Share:

सरकारले विपद् व्यवस्थापन, विपद् पूर्वतयारी तथा पुनर्निर्माणलाई केन्द्रमा राखेर विद्यमान कानूनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ। सरकारले घोषणा गरेको ‘कानून सुधार तथा कानून निर्माण वर्ष’ कार्यान्वयन गर्न गठित उच्चस्तरीय समितिको तेस्रो बैठकले उक्त निर्णय लिएको हो।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको संयोजकत्वमा बसेको बैठकमा पछिल्ला विपद्का घटनाबाट देखिएका कानूनी तथा संस्थागत चुनौती, नेपालको भौगोलिक र वातावरणीय जोखिम, उद्धार तथा राहतमा देखिने व्यवहारिक कठिनाइ र विपद्पछिको पुनर्निर्माणलाई सहज बनाउने कानूनी व्यवस्थाका विषयमा विस्तृत छलफल भएको थियो।

मन्त्री गौतमले कानून निर्माण गर्दा परम्परागत ढाँचामा मात्र सीमित नभई ‘आउट अफ द बक्स’ सोचका साथ नेपालको वर्तमान परिस्थिति, भौगोलिक अवस्था र भविष्यमा आउन सक्ने जोखिमको अध्ययन गरी कानून निर्माण गर्नुपर्नेमा जोड दिइन्। उनले रसुवालगायतका पछिल्ला विपद्का अनुभवलाई समेत समेट्नुपर्ने बताइन्।

उनले ‘अबको नेपाल कस्तो बनाउने’ र ‘नेपालको पूर्ण पुनर्निर्माण कस्तो हुने’ भन्ने दीर्घकालीन दृष्टिकोणका आधारमा कानून निर्माण गर्नुपर्नेमा जोड दिइन्। विगतमा अन्तर्राष्ट्रिय अभ्यास र ‘सेन्डाई फ्रेमवर्क’का आधारमा कानून बने पनि अहिलेको व्यवहारिक आवश्यकतालाई समेत सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

बाह्य अनुभव र अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्दै गर्दा नेपालको आफ्नै भौगोलिक अवस्था, सामाजिक संरचना र आवश्यकतालाई कानून निर्माणको केन्द्रमा राख्नुपर्नेमा जोड दिइएको थियो।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विद्यमान फ्रेमवर्क तथा विपद् व्यवस्थापनसम्बन्धी कानूनी संरचनाको समेत अध्ययन गरी समितिमा थप छलफल गर्ने निर्णय गरेको छ। विपद्का क्रममा हुने मानवीय क्षतिलाई ध्यानमा राख्दै अंग पहिचान, व्यवस्थापन तथा प्रत्यारोपणसम्बन्धी कानूनी व्यवस्थालाई थप व्यवहारिक बनाउनुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।

समितिले अब कानून सुधार तथा नयाँ कानून निर्माण गर्दा विपद् व्यवस्थापन र पूर्वतयारीलाई विशेष प्राथमिकता दिँदै नेपालको भूगोल, वातावरण, सामाजिक संरचना र भविष्यका जोखिमलाई समेत आधार बनाएर विद्यमान कानूनी संरचनाको समग्र अध्ययन गर्नेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार