रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएकी ६४ वर्षीया चन्द्रिका श्रेष्ठको ११ दिनपछि जीवितै उद्धार गरिएको छ। श्रेष्ठलाई नुवाकोटको बेत्रावती बजारस्थित घरबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले उद्धार गरेको हो। सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता नरेन्द्र बहादुर कार्कीले इन्सपेक्टर सुमन विकको टोलीले श्रेष्ठलाई अचेत अवस्थामा फेला पारेको जानकारी दिए। उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पतालमा ल्याइएको छ।
त्यस्तै, रसुवा बाढीले प्रभावित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट ४ टनेलमा फसेका एक चिनियाँ नागरिकको पनि उद्धार गरिएको छ। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले शनिबार ती नागरिकलाई सुरुङभित्रबाट उद्धार गरेको थियो। भदौ १० गतेको बाढीले आयोजना क्षेत्र र सुरुङ प्रभावित बनेको थियो।
नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले बाढी प्रभावितको उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्ने बताएका छन्। चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको निजामती सम्मान कार्यक्रममा बोल्दै उनले समयमै उद्धार कार्यलाई घनीभूत गर्न सकेको भए थप क्षति रोक्न सकिने बताए।
