धनुषाको धनौजी गाउँपालिकामा सडक निर्माणमा २६ लाख ६४ हजार ६२४ रुपैयाँ हिनामिना भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारबाट आएको बजेटबाट गौरदाहा–लखौरी सडक योजनामा यो भ्रष्टाचार भएको हो।
अख्तियारको अनुसन्धानले बोलपत्र आह्वान र आशय सूचना राष्ट्रिय दैनिकमा अनिवार्य प्रकाशन गर्नुपर्नेमा लुकाएर मिलेमतो भएको देखाएको छ। गाउँपालिकाका कर्मचारी र सञ्चारमाध्यमका सञ्चालकको मिलेमतोमा ‘जनकपुर टुडे’ राष्ट्रिय दैनिकको नक्कली प्रति तयार पारी २ लाख ४९ हजार ५०४ रुपैयाँ भुक्तानी लिएको/दिएको भेटिएको छ।
निर्माणस्थलमा कुनै भौतिक काम नगरी झुट्टा प्राविधिक बिल, नापी किताब र कार्य सम्पन्न प्रतिवेदन बनाएर निर्माण व्यवसायी ‘साइन कन्ट्रक्सन’लाई २४ लाख १५ हजार १२० रुपैयाँ भुक्तानी दिएको अख्तियारले जनाएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी र लेखापाल राधेश्याम रायविरुद्ध जनही २६ लाख ६४ हजार ६२४ रुपैयाँ बिगोसहित जरिवाना र कैद सजाय मागदाबी गरिएको छ। खरिदार अरूणकुमार यादव, सि.अ.हे.व. उमेश साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहविरुद्ध २४ लाख १५ हजार १२० रुपैयाँ बिगो कायम गरी कारबाही माग गरिएको छ।
योजनामा मतियार बनेर लाभ लिएको अभियोगमा साइन कन्ट्रक्सनका प्रोप्राइटर विकासप्रसाद यादव, एसकेवाइ इन्जिनियरिङका प्रोप्राइटर रामनारायण साह र असिस्टेन्ट सब इन्जिनियर शुभाषकुमार महरालाई २४ लाख १५ हजार १२० रुपैयाँ बिगोसहित मुख्य कसुरदार सरह सजाय माग गरिएको छ।
पत्रिका प्रकाशनको नक्कली कागजात बनाएर भुक्तानी लिने कार्यमा मतियार बनेको भन्दै अमृत मिडियाका प्रोप्राइटर राजेन्द्र यादव र जनकपुर टुडेका प्रधान सम्पादक बृजकुमार यादवविरुद्ध जनही २ लाख ४९ हजार ५०४ रुपैयाँ बिगोसहित कारबाही माग गरिएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले यो जानकारी दिएका हुन्।
