रसुवाको भोटेकोशी बाढीले बाँकेको थपुवा गाउँका पाँच जनालाई बेपत्ता पारेपछि तीजको रौनक गहिरो शोकमा डुबेको छ। मादलको ताल र रातो सारीको झिलीमिलीले गुञ्जिने थपुवा गाउँ यतिबेला सुनसान छ।
भदौ १० गतेको बाढीले रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत शेरसिंह रोकाय (५३), उनकी पत्नी विष्णुमती रोकाय (५६) र उनीहरूलाई भेट्न पुगेका छोरा दीपक रोकाय (१९) बेपत्ता भए। बुढेसकालको सहारा र जीवनका आधार एकैपटक गुमाएका अनलाल रोकायको परिवार विछोडको पीडामा छ।
रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उजना दमाईं पनि सोही बाढीमा बेपत्ता भए। उनीहरूका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय छोरा अश्विन र ९ वर्षीया छोरी स्मारिका दिनभर आमाबुबाको बाटो हेर्दै टोलाइरहन्छन्। तीजको खुसीको मौसममा उनीहरूको जीवन अँध्यारो सुरुङमा खसेको छ।
स्थानीयवासी टेकराज जैसी भन्छन्, ‘गाउँका पाँच जना बेपत्ता हुँदा सिङ्गो गाउँ नै पीडामा छ, यस्तो बेला तीज कसरी मनाउनु?’ गाउँलेले पर्वको तडकभडक त्यागेर पीडित परिवारलाई सान्त्वना दिने प्रयास गरिरहेका छन्।
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजी जारी राख्ने बताए। उनले आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए। ‘हराएका अनुहारहरू सकुशल फर्किऊन् भन्ने आशामा छौँ,’ उनले भने।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार रसुवाको भोटेकोशी बाढीमा परी हालसम्म जिल्लाका २३ जना बेपत्ता छन्। तीनजनाको शव सनाखत भएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।
