प्रलोभनमा पारी भारत पुर्याएर नेपाली महिला र युवतीको चरम शोषण भएको विवरण सार्वजनिक भएपछि सरकारले यस घटनाको गम्भीर छानबिन सुरु गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले खोजमूलक समाचारलाई प्रारम्भिक सूचना मानेर सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले असोज ४ गते जारी गरेको विज्ञप्तिमा घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गृह मन्त्रालयसँग समन्वय गरी सुरक्षा तथा अनुसन्धान निकायलाई छानबिनको निर्देशन दिइएको छ। सार्वजनिक विवरण अनुसार, झुटा आश्वासन, आकर्षक रोजगारी, विवाह, अध्ययन, मोडलिङ वा मनोरञ्जनको प्रलोभन देखाएर बिचौलियामार्फत महिलालाई भारत पुर्याई शोषण गर्ने आरोप छ।
बिचौलियादेखि सीमा नाकासम्म अनुसन्धान
छानबिन घटनामा संलग्न व्यक्तिमा मात्र सीमित रहने छैन। सम्भावित बिचौलिया, संस्था, सीमा नाका, यात्राका माध्यम र आपराधिक सञ्जालसम्म अनुसन्धान विस्तार गरिनेछ। प्रमाण संकलन, पीडितको पहिचान तथा संरक्षण र आरोपितमाथि अनुसन्धानका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको छ। अहिलेसम्म पीडितको संख्या वा आरोपितको पहिचानबारे मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन।
‘सीमा पार गराएपछि नेपालको सरोकार सकिँदैन’
नेपाल–भारतको खुला सीमाको दुरुपयोग गरी महिला, युवती र बालबालिकालाई प्रलोभनमा सीमापार लैजाने र शोषण गर्ने गतिविधि पुष्टि भए कानुनअनुसार कारबाही हुनेछ। नेपाली नागरिकलाई सीमापार पुर्याउँदैमा नेपालको सरोकार समाप्त नहुने मन्त्रालयले स्पष्ट पारेको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले यस्ता गतिविधि गम्भीर कसुर मानेको छ।
उद्धारदेखि पुनर्स्थापनासम्म सरकारको जोड
अनुसन्धान र कारबाहीसँगै सम्भावित पीडितको उद्धार, संरक्षण, सुरक्षित घरफिर्ती र पुनर्स्थापनालाई पनि प्राथमिकता दिइएको छ। मानव बेचबिखन नियन्त्रणसम्बन्धी राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार पीडित संरक्षण र अपराध नियन्त्रणमा सरकार प्रतिबद्ध छ।
सामाजिक सञ्जालका ‘आकर्षक अफर’प्रति सतर्क रहन आग्रह
सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट आउने अस्वाभाविक रोजगारी, उच्च आम्दानी, विदेश यात्रा, विवाह, मोडलिङ वा मनोरञ्जनसम्बन्धी आकर्षक प्रस्तावप्रति नागरिकले विशेष सतर्कता अपनाउनुपर्छ। वैदेशिक रोजगारी, अध्ययन वा यात्राअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता यकिन गर्नुपर्छ। राहदानी, नागरिकता, बैंक विवरण वा अन्य व्यक्तिगत कागजात अपरिचित व्यक्ति वा बिचौलियालाई सहजै उपलब्ध गराउनु हुँदैन।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा मानव बेचबिखन, जबर्जस्ती वा प्रलोभनमा लैजाने प्रयास वा सीमापार शोषणसम्बन्धी सूचना तत्काल सम्बन्धित निकायलाई उपलब्ध गराउन आग्रह गरिएको छ। यस्ता घटनाबारे नजिकको प्रहरी कार्यालय, सरकारी निकाय वा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जानकारी दिन सकिनेछ।
