सोमबार नवलपुरको नारायणी नदी किनारमा फेला परेको शंकास्पद वस्तु काट्ने क्रममा विस्फोट हुँदा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, सोमबार बिहान करिब ८ बजे मध्यविन्दु नगरपालिका-३ ब्रह्मस्थानका ४९ वर्षीय एकासी बोटेले नारायणी नदी किनारमा एउटा अज्ञात वस्तु फेला पारेका थिए। बाहिरी भागमा डोरीजस्तो वस्तुले बेरिएको, भित्री भाग फलामजस्तो देखिने र बेलनाकार रहेको उक्त वस्तु उनले घरमा ल्याएका थिए।
बिहान करिब ११:२० बजे कवाडी व्यवसायीको सहयोगमा ह्याक्सा ब्लेडले उक्त वस्तु काट्ने क्रममा अचानक विस्फोट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार, विस्फोटमा बोटेसहित दुई जना घाइते भएका थिए।
घटनामा एकासी बोटेका दुवै हातका हत्केलामा गहिरो चोट लागेको छ। भारतको मोतिहारी घर भई हाल कावासोती नगरपालिका-८ थकाली चोकमा बस्दै आएका २८ वर्षीय सचिन कुमारको बायाँ हातको हत्केलामा गहिरो चोट लागेको छ भने उनको बायाँ आँखाको दृष्टिमा समेत समस्या आएको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई प्रारम्भिक उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बोटेलाई भरतपुर अस्पताल र सचिन कुमारलाई चितवन मेडिकल कलेज रिफर गरिएको छ।
नवलपरासी सुस्ता पूर्वको विनयी त्रिवेणी ७ मा अवस्थित त्रिवेणी भन्सार कार्यालय नजिक पनि यस्तै प्रकृतिको शंकास्पद वस्तु विस्फोट हुँदा थप एक जना घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक पण्डितले उनको पहिचान खुल्न नसकेको जानकारी दिए।
बाढीले बगाएको विस्फोटक पदार्थको आशंका
प्रहरीले गत भदौ १० गते आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनामा विस्फोट गराउन प्रयोग गर्ने उद्देश्यले राखिएको विस्फोटक पदार्थ बगाएर ल्याएको हुन सक्ने आशंका गरेको छ। विस्फोट भएको वस्तु करिब दुई फिट लामो र १४ इन्च गोलाइको थियो। यद्यपि, वस्तुको वास्तविक प्रकृति र विस्फोटको कारण पुष्टि हुन बाँकी रहेको छ।
नारायणी नदीमा २०८३ साउन २१ गते बाढी आएको थियो, जसले नदीको जलस्तर उच्च बनाएको थियो। २०८३ असोज २१ गते नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको थियो। नवलपरासीतर्फ अमलटारी क्षेत्रमा तीन किलोमिटर, नन्दपुर, सीतापुर, सेरी क्षेत्रमा दुई किलोमिटर र अन्य विभिन्न स्थानमा गरी १५ किलोमिटरभन्दा बढी क्षेत्रमा बाढीले क्षति पुर्याएको थियो।
शंकास्पद वस्तु नछुन प्रहरीको आग्रह
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले नारायणी नदी किनारलगायत अन्य स्थानमा शंकास्पद वा अज्ञात वस्तु फेला परेमा नछुन, नचलाउन तथा काट्ने वा खेलाउने प्रयास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रहरीले त्यस्ता वस्तु देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न र सम्भावित दुर्घटनाबाट बच्न अनुरोध गरेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
