एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२६ को ‘राइट फर राइट्स’ (W4R) मानवअधिकार अभियानको पूर्वतयारी तथा योजना निर्माण कार्यशाला हेटौँडामा सम्पन्न गरेको छ, जहाँ मधेश प्रदेशका प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो। कार्तिक १५ गते (अक्टोबर ३१) सम्पन्न कार्यशालामा वीरगञ्ज र जनकपुरधामका प्रतिनिधिहरूले क्षेत्रीय तहमा मानवअधिकारको ऐक्यबद्धता र अभियानको प्रभावकारिता सुदृढ पार्न जोड दिए।
कार्यशालामा मानवअधिकार रक्षकहरूले भोग्नुपरेका चुनौती, यस वर्षका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र जोखिममा परेका समुदायको पक्षमा जनसमर्थन जुटाउने रणनीतिबारे गहन विचार-विमर्श भयो। नेपालको सन्दर्भमा यो अभियान उपयुक्त आवासको अधिकारमा केन्द्रित छ, जसले सीमान्तकृत समुदायमा परेको जबर्जस्ती निष्कासनको विनाशकारी असरतर्फ राज्यको ध्यान आकर्षित गराउँछ।
एम्नेस्टी नेपाल समूह १६ (वीरगञ्ज) का तर्फबाट रज निस झा र समूह ५७ (जनकपुरधाम) का तर्फबाट लेक्चरर उदय नारायण यादवले कार्यशालामा सक्रिय सहभागिता जनाए। जनकपुरधामका अध्यक्ष मनिष श्रीओम र वीरगञ्जका पूर्व अध्यक्ष राजेश बात्रा जैनका अनुसार मधेश प्रदेशबाट भएको यो सक्रिय सहभागिताले क्षेत्रीय तहमा मानवअधिकारको ऐक्यबद्धता, पहुँच र अभियानको प्रभावकारितालाई थप सुदृढ बनाउन ठूलो सहयोग पुग्नेछ।
मधेशमा आवास अधिकारको महत्त्व
विगत २५ वर्षभन्दा बढी समयदेखि ‘राइट फर राइट्स’ ले मानवअधिकार उल्लङ्घनविरुद्ध विश्वभरका लाखौँ मानिसहरूलाई गोलबन्द गर्दै आएको छ। पत्रलेखन, याचिका र सार्वजनिक पैरवीमार्फत यस अभियानले सम्बन्धित निकायहरूलाई दमन अन्त्य गर्न, मानवअधिकारको रक्षा गर्न र न्याय सुनिश्चित गर्न दबाब दिने गर्दछ।
यस वर्षको विश्वव्यापी अभियानले इजिप्ट, पाकिस्तान, एल साल्भाडोर र हङकङ लगायतका देशहरूमा राज्यको दमनविरुद्ध आवाज उठाउने तथा आदिवासी जनजातिको अधिकार संरक्षणमा खटिएका कारण निशानामा परेका व्यक्ति एवं समुदायलाई प्राथमिकतामा राखेको छ। नेपालको सन्दर्भमा उपयुक्त आवासको अधिकारमा केन्द्रित यो अभियान मधेश प्रदेशका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ, जहाँ सीमान्तकृत समुदायमाथि जबर्जस्ती निष्कासनको जोखिम उच्च छ।
कार्यशालामा सामूहिक कार्य, पत्रलेखन, जनपरिचालनको ऐतिहासिक उपलब्धि र मानवअधिकार रक्षकहरूले भोग्नुपर्ने जोखिमबारे छुट्टाछुट्टै सत्रहरू सञ्चालन गरिएका थिए। सहभागीहरूले अघिल्ला वर्षका अभ्यासहरूबाट सिक्दै यस वर्षको अभियानलाई अझ प्रभावकारी बनाउने रणनीति तयार पारेका छन्। एम्नेस्टी नेपालका सदस्य र समर्थकहरूले अन्यायविरुद्ध आवाज उठाउँदै सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय सुनिश्चित गर्न दबाब जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
