रौतहटमा प्रहरीले भारतबाट नेपालतर्फ भित्र्याइएको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगद बरामद गरेको छ। ईशनाथ नगरपालिका–४ को महुलियास्थित काली मन्दिर नजिक मंगलबार दिउँसो भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा उक्त रकम बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले मोटरसाइकलको गोप्य स्थानमा लुकाइएको ३० लाख रुपैयाँ र एउटा स्मार्टफोन फेला पारेको थियो। प्रहरीले भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्ला, फुलबरिया–१३ निवासी ३० वर्षीय सनि कुमार जैसवाललाई नगदसहित पक्राउ गरेको छ। प्रारम्भिक सोधपुछका क्रममा जैसवालले उक्त रकम गौर नगरपालिका–१ का न्यु तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई बुझाउन ल्याएको बयान दिएका छन्।
पृष्ठभूमि
- मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क. अनुसार कसैले पनि हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन हुँदैन।
जैसवालको यस बयानको आधारमा प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले न्यु तराई ट्रेडर्समा छापा मारेको थियो। पसलमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ नगद बरामद भयो। प्रहरीले न्यु तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बरामद गरिएको उक्त रकमको वैधानिक स्रोत खुल्न सकेको छैन।
हुण्डी कारोबारको कानुनी व्यवस्था
नेपालमा हुण्डी कारोबार गैरकानुनी मानिन्छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क. अनुसार हुण्डीसम्बन्धी कारोबार गर्न वा गराउन पाइँदैन। यस्तो कारोबारमा बिगो र सोबाट बढेबढाएको सम्पत्ति जफतका साथै एक वर्षसम्मको कैद सजाय हुन सक्छ। यसअघि विदेशी विनिमय ऐन, २०१९ अनुसार बिगोको ३ गुणासम्म वा ३ वर्षसम्म सजाय हुने व्यवस्था थियो। नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र विप्रेषण कम्पनीहरू मात्र रकम स्थानान्तरणका लागि प्रयोग गर्न आग्रह गर्दै आएको छ।
हुण्डी भन्नाले प्रचलित कानूनबमोजिम मान्यताप्राप्त संस्था वा भुक्तानीको उपकरण बाहेकका अन्य व्यक्ति, उपकरण वा अन्य कुनै माध्यम प्रयोग गरी नेपालबाट विदेशमा वा विदेशबाट नेपालमा कुनै रकम वा मूल्य स्थानान्तरण वा हिसाब मिलान वा भुक्तानी लिनेदिने वा हुने गरी व्यवसाय बनाई गरिने कारोबारलाई बुझिन्छ। सम्पत्ति शुद्धीकरणको विषय हेर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीई) को क्षेत्रीय संस्था एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्ड्रिङ (एपीजी) को टोली नेपाल भ्रमणमा आउँदा यो विषयलाई फौजदारी अपराधमा समावेश गरिएको थियो।
प्रहरीले पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखेर बरामद रकमको वास्तविक स्रोत, यसको कारोबार र नेपाल भित्र्याउनुको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको छ।