नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज चितवन राइनोज र काठमाडौं गुर्खाजबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हुँदैछ। साँझ ५ बजे सुरु हुने यो खेल दुवै टोलीका लागि अंक तालिकामा आफ्नो स्थान सुधार गर्न महत्वपूर्ण छ।
प्रतियोगितामा हालसम्म ४ खेल खेलेको काठमाडौं गुर्खाज ६ अंकसहित दोस्रो स्थानमा छ। कप्तान करण केसीको नेतृत्वमा रहेको गुर्खाजले जनकपुर बोल्ट्ससँग एक खेलमा हार बेहोरे पनि कर्णाली याक्स, विराटनगर किंग्स र लुम्बिनी लायन्सविरुद्ध जित हासिल गरेको छ।
उता, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोज पनि ४ खेलबाट ५ अंक जोडेर चौथो स्थानमा छ। राइनोजले विराटनगर किंग्स र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो भने सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो। लुम्बिनी लायन्सविरुद्धको खेल भने नतिजाविहीन टुंगिएको थियो।
आजको खेलमा जित हासिल गरेमा काठमाडौं गुर्खाज शीर्ष स्थानमा उक्लन सक्नेछ भने चितवन राइनोज पनि अंक तालिकामा माथि चढ्दै प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ।