NM Khabar 8 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भट्ट-अग्रवाल प्रि-आइपिओ बदमासी: आठ इन्स्योरेन्स कम्पनी छानबिनमा

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोडिएका आठ इन्स्योरेन्स कम्पनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ। धितोपत्र बोर्डको प्रतिवेदनअनुसार प्रि–आइपिओ र कृत्रिम कारोबारमार्फत अर्बौंको अनियमितता भएको आरोप छ।
Arjun Basnet
Arjun Basnet
8 May 2026, 7:37 am १ मिनेट पढाइ
आकार:
Share:

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोडिएका आठ इन्स्योरेन्स कम्पनीमा धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्षसहित थप छानबिन थालेको छ।

ती इन्स्योरेन्स कम्पनीहरूले प्राथमिक सेयर (आइपिओ) जारी गर्नुअघि नै संस्थापक सेयरलाई अनौपचारिक रूपमा प्रि–आइपिओका नाममा अंकित मूल्यभन्दा बढीमा बिक्री गरी रकम उठाएको र उक्त रकम कम्पनीको खातामा नभई बिक्रीकर्ताकै खातामा जम्मा भएको आशंकामा छानबिन केन्द्रित छ। नेपाल धितोपत्र बोर्डले यस्तो कारोबार नगर्न बारम्बार सूचना जारी गरे पनि त्यसलाई बेवास्ता गरिएको प्रतिवेदनमा उल्लेख छ।

धितोपत्र बोर्डले तयार पारेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार व्यवसायी भट्टले धितोपत्र ऐनविपरीत कृत्रिम कारोबार गरी बजार प्रभावित पारेको ठहर छ। उनले वास्तविक लेनदेनबिना नै उधारोमा सेयर कारोबार गरी कृत्रिम रूपमा मूल्य वृद्धि गराएको र आफू तथा परिवारको स्वामित्व रहेका हिमालयन रि–इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सजस्ता कम्पनीबिच आपसमा सेयर खरिद–बिक्री गरी मूल्यमा उतारचढाव ल्याएको आरोप छ। सोही प्रतिवेदनका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान अघि बढाएका हुन्।

भट्टले भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत २०८२ साउन ५ देखि चैत १ गतेसम्म ३ अर्ब ८० करोड ५३ लाख रुपैयाँ बढीको सेयर खरिद र ९३ करोड ५ लाख ९२ हजार रुपैयाँ बढीको सेयर बिक्री गरेका थिए। उक्त अवधिमा भृकुटी स्टक ब्रोकिङ कम्पनीले भट्टबाट कुनै पनि रकम लिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

भट्टले सेयर खरिदबापतको २ अर्ब ८९ करोड २० लाख ४८ हजार रुपैयाँभन्दा बढी रकम धितोपत्र दलाल कम्पनी भृकुटीलाई तिर्न बाँकी छ। रकम लेनदेन नगरी सेयर कारोबार गरेका भट्ट र धितोपत्र दलाल कम्पनी भृकुटीबिचको साँठगाँठमा नेपाल रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाएको बोर्डको अनुसन्धानले देखाएको छ। २०८२ साउन ५ गते दिउँसो १२ बजेर ५६ मिनेटमा प्रतिकित्ता १४६१ रुपैयाँ रहेको उक्त कम्पनीको मूल्य ३ बजेर ५९ मिनेट जाँदा बढाएर १६८६ रुपैयाँ १० पैसा पु¥याइएको छानबिनका क्रममा भेटिएको थियो।

यस कसुरमा सहयोग गरेको आरोपमा व्यवसायी शेखर गोल्छालाई पक्राउ गरिए पनि उनी अदालतको आदेशमा धरौटीमा छुटेका छन्। प्रतिवेदनमा मतियारका रूपमा राखिएका शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाह भने अहिले फरार छन्।

धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९६ बमोजिमको कसुर भएको देखिएकाले थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

Nmkhabar का राजनीतिक अनुसन्धान संवाददाता। भ्रष्टाचार, सम्पत्ति विवरण र शासकीय जवाफदेहिताका विषयमा विशेष दक्षता राख्छन्।

सम्बन्धित समाचार