सिन्धुलीको खुर्कोट प्रहरी हिरासतमा श्रीकृष्ण विकको शंकास्पद मृत्यु प्रकरणमा इन्स्पेक्टर बसन्त भुजेल र प्रहरी जवान अर्जुन सिंहलाई विभागीय कारबाही सिफारिस गरिएको छ। डीआईजी दिनेशकुमार आचार्य संयोजकत्वको छानबिन समितिले यो सिफारिस गरेको हो।
समितिले इन्स्पेक्टर भुजेल र जवान सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ। उनीहरूलाई सोही दरबन्दीमा कार्यरत नरहने गरी अलग गर्न पनि समितिले भनेको छ।
समितिको सिफारिसमा इन्सपेक्टर भुजेललाई खुर्कोटबाट बागमती प्रदेश कार्यालय सरुवा गरिएको छ। घटनाका बेलाका डिउटी अफिसर, हवल्दार मेजर, सुवेदार मेजर, अपराध अनुसन्धान अधिकृत र सीसीटीभी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई सचेत गराइएको छ।
प्रहरी वृत्त सातदोबाटोका प्रमुख र अनुसन्धान अधिकृतलाई जिम्मेवार, संवेदनशील र पीडित अनुकूल सेवा प्रवाहमा ध्यान दिन समितिले ध्यानाकर्षण गराएको छ। वैशाख ७ गते साँझ खुर्कोट हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका विकको मृत्यु शंकास्पद देखिएपछि डीआईजी आचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो।
समितिमा एसपी रवीन्द्रनाथ पौडेल, इन्स्पेक्टर इन्द्रजित सुनार, इन्स्पेक्टर प्रेम रेग्मी र सई राजेश्वर देवकोटा सदस्य थिए। घटनापछि सांसदहरूले छानबिनको माग गर्दै सिन्धुली प्रशासनमा धर्ना दिएका थिए।
समितिका अनुसार श्रीकृष्णको मृत्यु झुण्डिएकै कारण भएको निष्कर्ष प्रतिवेदनमा छ। त्रिवि शिक्षण अस्पतालका विशेषज्ञहरूको प्रतिवेदनले पनि यही पुष्टि गरेको छ। पोस्टमार्टम रिपोर्टमा घाँटीमा डोरीको बाहेक शरीरमा अन्य चोटपटक वा विषादी प्रयोग भएको नदेखिएको उल्लेख छ।
समितिले हिरासतको डिउटी र अवस्थाको नियमित मूल्यांकनका लागि कार्ययोजना बनाउन सुझाव दिएको छ। हिरासत गार्डलाई बढीमा तीन घण्टा ड्युटीमा खटाउन भनिएको छ। भविष्यमा यस्ता घटना रोक्न प्रहरीको दलित सेललाई प्रभावकारी संयन्त्र बनाउन पनि समितिले सुझाएको छ।
यसैगरी, हिरासतको भौतिक संरचना मूल्यांकन, भेटघाट रजिस्टर प्रभावकारी बनाउन, २४ घण्टा सीसीटीभी मनिटरिङ, थुनुवा काउन्सिलिङ र हिरासत व्यवस्थापन निर्देशिका कार्यान्वयन गर्न समितिले सुझाव दिएको छ।
समितिले १८ वर्षभन्दा मुनिको विवाह भएकाले किशोरीका आफन्तको जाहेरी लिन प्रहरी बाध्य भएको उल्लेख गरेको छ। अन्तरजातीय विवाहमा राज्य संवेदनशील बन्नुपर्ने र हिरासत मृत्युमा राज्यले अपनत्व लिई पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने सुझाव पनि दिएको छ।
प्रहरीका अनुसार मृतक श्रीकृष्ण विक र खोटाङकी किशोरीबीच करिब २ वर्षदेखि प्रेम सम्बन्ध थियो। चैत २८ गते किशोरी बेपत्ता भएपछि परिवारले प्रहरी वृत्त सातदोबाटोमा खोजतलासको निवेदन दिएका थिए। वैशाख ३ गते किशोरी र श्रीकृष्ण आफन्तसहित सातदोबाटो पुगेका थिए।
घटनास्थल सिन्धुली भएपछि सातदोबाटोले उनीहरूलाई उतै पठाएको थियो। वैशाख ४ गते श्रीकृष्णलाई खुर्कोट पुर्याइएको थियो। खुर्कोटमा आफन्तले बलात्कारको जाहेरी दिएपछि प्रहरीले बलात्कार कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाएको थियो।
