मेटाले आफ्नो एआई स्मार्ट चस्मामा नयाँ फिचर ल्याएको छ, जसबाट अब प्रयोगकर्ताले हावामै औंला चलाएर टाइप गर्न सक्नेछन्।
कम्पनीले यसका लागि विशेष ‘न्युरल रिस्टब्यान्ड’ प्रविधि विकास गरेको छ। रिस्टब्यान्डले हातका नसाबाट निस्कने विद्युतीय संकेतहरू पढ्छ। यसले त्यसकै आधारमा कमान्ड बुझ्छ। प्रयोगकर्ताले औंलाको हल्का चालबाट टेक्स्ट लेख्न वा एपहरू नियन्त्रण गर्न सक्छन्।
यो फिचर मेटाको एआई स्मार्ट चस्मा ‘रेबन मेटा स्मार्ट ग्लासेस’ सँग एकीकृत हुनेछ। यसले प्रयोगकर्तालाई डिस्प्ले, किबोर्ड वा भ्वाइस कमान्ड बिना नै सन्देश पठाउन सक्षम बनाउँछ।
नयाँ अपडेटको मुख्य फिचर ‘न्युरल ह्यान्डराइटिङ’ हो। यसको मद्दतले स्मार्टफोनलाई खल्तीबाट ननिकालेरै टाइप गर्न सकिनेछ। यसका लागि कुनै पनि फिजिकल वा डिजिटल किबोर्ड प्रयोग गर्नुपर्ने छैन।
मेटा रेबन डिस्प्ले लगाएको व्यक्तिले हावामा औंला घुमाउनुपर्छ, मानौं कापीमा अक्षर लेख्दैछ। उदाहरणका लागि, अंग्रेजी ‘एम’ लेख्न हावामै ‘एम’ को आकार बनाउनुपर्छ। यसरी औंलाको चाललाई चस्माले पहिचान गरी अक्षरमा रूपान्तरण गर्नेछ।
यो ब्यान्डले हातको जेस्चरलाई सूक्ष्म रूपमा ट्र्याक गर्छ, बुझ्छ र कमान्डमा रूपान्तरण गर्छ। यो फिचरले ह्वाट्सएप, मेसेन्जर, इन्स्टाग्राम लगायतका एन्ड्रोइड र आईओएसका प्रमुख मेसेजिङ एपहरूलाई सपोर्ट गर्छ। यसले प्रयोगकर्ताको सञ्चार अनुभव सहज बनाउँछ।
मेटाले करिब छ महिनाअघि स्मार्ट ग्लास सार्वजनिक गरेको थियो, जसमा एआई आधारित सञ्चार फिचर उन्नत बनाइँदैछ।
