बालाजु औद्योगिक क्षेत्रका ठूला उद्योगीहरूले करोडौं रुपैयाँ बक्यौता भाडा र महशुल बुझाएका छैनन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र रकम भुक्तानी नगरे कडा कारबाही गर्ने चेतावनी दिएकी छन्।
औद्योगिक क्षेत्र व्यवस्था लिमिटेडका अनुसार गुराँस इन्जिनियर्स प्राइभेट लिमिटेडले रु तीन करोड ७३ लाख १९ हजार, कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिले रु तीन करोड ६९ लाख १० हजार, बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेकले रु दुई करोड ५५ लाख ८६ हजार, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला) ले रु एक करोड ७५ लाख, बालाजु अटो वर्क्स प्रालिले रु एक करोड ४५ लाख, नेपाल ग्यास उद्योगले रु एक करोड ३१ लाख र कन्टिनेन्ट सर्भिसेज प्राइभेट लिमिटेडले करिब रु एक करोड रुपैयाँ तिर्न बाँकी छ।
मन्त्री यादवले यसपटक विगतजस्तो सामान्य पत्र काटेर मात्र नछाडिने बताइन्। उनले भनिन्, “सात दिनको समयभित्र बैंक भौचरसहित उपस्थित नहुने उद्योगहरूको लाइन काटिनेछ। उद्योग परिसर सिल गरिनेछ र अटेर गरे सञ्चालकहरूविरुद्ध सिधै वारेन्ट जारी गरी राज्यको सम्पत्ति असुली प्रक्रिया अघि बढाइनेछ।” यो कदमले लामो समयदेखि सरकारी सम्पत्ति प्रयोग गरेर दायित्व नतिर्ने उद्योगीहरूमाथि दबाब बढेको छ।
