सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा वैशाख २१ गते उद्घाटन गरिएको १२ करोडको सिटी स्क्यान मेसिन जनशक्ति अभावले प्रयोगविहीन बनेको छ।
अस्पताल प्रशासनका अनुसार सिटी स्क्यान सेवा पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र एक जना सहयोगी गरी तीन जना कर्मचारी तत्काल आवश्यक छ। अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन भएर पनि सेवा दिन नसक्दा जनमानसमा गलत सन्देश गएको बताए।
अध्यक्ष मेहताले आमनागरिकलाई सस्तो र सुलभ मूल्यमा विशेषज्ञ सेवा दिने उद्देश्यले मेसिन ल्याएको बताए। तर, चलाउने प्राविधिक जनशक्ति नहुँदा अप्ठेरोमा परेको उनको भनाइ छ। उनले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले तत्काल सहयोग गर्नुपर्ने माग गरे।
अस्पताल प्रमुख डा. वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको विषयगत मन्त्रालयमा निरन्तर पहल भइरहेको जानकारी दिइन्। तर, मधेस प्रदेशभरि नै रेडियोलोजिस्टको अभाव रहेकाले मन्त्रालयले कहिलेसम्म कर्मचारी पठाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन।
मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साह यसअघि यही अस्पतालमा निमित्त मेसुका रूपमा कार्यरत थिए।
तर, गत माघ २ गते मन्त्रालयले डा. साहलाई सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेपछि लहान अस्पतालमा प्राविधिक सङ्कट निम्तिएको हो। मधेस प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ मा १२ करोड लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लहान अस्पतालमा पठाइएका १२ करोडका दुई सिटी स्क्यान मेसिनमध्ये लहानको मेसिन जनशक्ति अभावले प्रयोगविहीन बनेको छ। मन्त्रालयले कहिलेसम्म कर्मचारी पठाउँछ भन्ने टुङ्गो लागेको छैन।
